भद्रपुर । झापामा खुकुलो निषेधाज्ञा थप एक साता लम्बाइएको छ ।
जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको डिसीसीएमसीको बैठकले साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरिएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए । झापामा कोरोना संक्रमितको सँख्यामा कमी नआएकोले एक साता निषेधाज्ञा बढाएको उनले बताए ।
लामो दूरीका सार्वजनिक यातायातको हकमा सरकारको निर्णय अनुसार अघि बढ्ने उनको भनाइ छ । छोटो दूरीका सार्वजनिक यातायात बससहित अन्य सवारीसाधन जोर बिजोर प्रणाली अनुसार पाँचथर र ताप्लेजुङ जिल्लासम्म स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर चलाउने पाउने निर्णय गरिएको छ ।
यसअघि झापा, मोरङ, सुनसरी, इलामसम्म मात्र जोर बिजोर प्रणालीअन्तर्गत सवारीसाधन सञ्चालन गर्ने निर्णय गरिएको थियाे ।
अन्य निर्णय अघिल्लो पटक गरिएकोलाई नै यथावत् राखिएको उनले बताए । बजार तथा पसलको हकमा व्यवसायीले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्मका लागि सञ्चालन गर्न पाउने निर्णय गरेको छ । होटेल तथा रेष्टुरेन्टहरुले टेक–अबे सेवा बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाउने छन् ।