बुधबारे । समुदाय तहमा कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिरहेको जनाउँदै झापाको बुद्धशान्ति गाउँपालिकाले एक साताका लागि सिल गर्ने निर्णय गरेको छ ।
आज बसेको गाउँकार्यपालिकाको बैठकले भोलि राती १२ बजेदेखि लागू हुने गरी गाउँपालिका सिल गर्ने निर्णय गरेको हो ।
कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि गाउँपालिका सिल गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष रमेशकुमार भुजेलले जानकारी दिनुभयो । संक्रमितको संख्या बढेपछि चिन्ता व्यक्त गर्दै बुद्धशान्ति गाउँपालिकाका राजनीतिक दल, उद्योग वाणिज्य संख्या प्रतिनिधि र जनप्रतिनिधिको संयुक्त बैठक बसेको थियो ।
बैठकले एक साताका लागि सम्पूर्ण उद्योग व्यवसाय र मानिसको आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । गाँउपालिकाबाट प्रदान गरिने अत्यावश्यक सेवाका बाहेक अन्य सबै प्रकारका सेवाहरु स्थगित गर्ने निर्णय भएको अध्यक्ष भुजेलले बताउनुभयो ।