अर्जुनधारा । स्थानीयस्तरमा सामाजिक कार्य गर्ने उद्देश्यले स्थापना भएको झापाको अर्जुनधारा १ स्थित अर्जुनधारा युथ नेटवर्कले मंगलबार राहत वितरण गरेको छ ।
कोभिड १९ रोगको नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय झापाले लागु गरेको निशेधाज्ञाका कारण प्रभावित र नदीजन्य सामग्री उत्खनन्मा लागेको प्रतिबन्धका कारण नदीमा आश्रित मजदुरहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको नेटवर्कका अध्यक्ष लक्ष्मी गौलीले जानकारी दिए ।
नेटवर्कका सदस्य किरण हमालका अनुसार प्रति परिवार अनुमानित दुई हजार दुई सय रुपैयाँका दरले ४५ परिवारलाई उक्त सामग्री वितरण गरिएको हो । वितरण गरिएको सामग्रीहरुमा चामल, तेल, दाल, नुन, सोयाबीन आदि रहेको उल्लेख गरिएको छ ।
नेटवर्कका अध्यक्ष गौलीको अध्यक्षता र वडा सदस्य तुलसा पोखरेलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा अर्का वडा सदस्य भद्रिका विक, सामुदायिक स्वास्थ्य इकाईकी प्रमुख सृष्टी एक्तेन, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष युवराज लोहार, बिरीङ जलाधार ब्लक नं ९ का अध्यक्ष नन्दलाल खनाल, सिस्ने कृषि सहकारी संस्थाका व्यवस्थापक डीबी दर्नाल, अर्जुन तामाङलगायतले खाद्यान्न सामग्री प्राप्त गर्ने परिवारका सदस्यलाई कुपन हस्तान्तरण गरेका थिए ।
नेटवर्ककी सदस्य रञ्जिता नेपालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव पूजा सुवेदीले गरेकी थिइन् । साथै सोही नेटवर्कले बुधबार बिरीङ नदीको तटीय क्षेत्र, निर्माणाधीन टेक–मान रंगशाला र पर्यटकीय क्षेत्र हात्तीआहालमा वृक्षारोपण गर्ने कार्यक्रम रहेको सदस्य हमालले जानकारी दिए ।
२०७५ सालमा स्थापना भएको नेटवर्कले यस अघि सिस्नेमा पहिलोपटक रक्तदान, युवा सशक्तिकरणलगायतका कार्यक्रमहरु सञ्चालन गरेको बताइएको छ । नेटवर्कमा हाल ३५ जना विभिन्न उमेर समूहका युवाहरु आवद्ध रहेका छन् ।