अर्जुनधारा । झापा अर्जुनधाराको खुदुनाबारीमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि पूर्व कानुन मन्त्री अग्निप्रसाद खरेलले स्थलगत निरीक्षण गरेका छन् ।

यसअघि नै अस्थायी चौकी स्थापनाका लागि पहल गरेका पूर्व मन्त्री खरेलले स्थानीय सरोकारवाला, जनप्रतिनिधिसहित मंगलबार बिहान निरीक्षण गरेका हुन् ।

आवश्यक पूर्वाधारको निरीक्षण पछी आयोजित भेलालाई सम्बोधन गर्ने क्रममा उनले पार्टीको आँखाले नभई विकासको आँखाले हेर्ने स्थानीय सरकार मात्र सफल हुने बताए ।

कोभिडको कारण चौकी स्थापना हुने कार्य हाललाई केही पछाडि सरे पनि स्थापना हुनेमा सबैलाई ढुक्क हुन पूर्व महान्यायधिवक्ता समेत रहेका उनले विश्वस्त पारेका छन् ।

स्थानीयस्तरमा रहेका नागरिकहरुलाई सुरक्षाको प्रत्याभूति गराउँदै समाजमा हुने विभिन्न किसिमका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न आवश्यक चौकी स्थापनाको विषयबारे आफूले जानकारी पाएलगत्तै सम्बन्धित निकायमा सहजीकरण र समन्वय गरेको उनले दावी गरे ।

नगर प्रमुख हरिकुमार रानाले वर्तमान अवस्थामा नगरको समसामयिक अवस्थाबारे जानकारी गराएको कार्यक्रममा संविधान सभा सदस्य प्रेमबहादुर गिरी, उपप्रमुख कमला खतिवडा आचार्य, वडाध्यक्षद्वय रघुनाथ खनाल र जीवकुमार भण्डारी, जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका उपाध्यक्ष दिपक दुलाललगायतले त्यस क्षेत्रमा आवश्यक चौकीको आवश्यकताबारे जानकारी गराएका थिए ।