फिदिम । पाँचथरको कुम्मायक २ माङजाबुङ निवासी समाजसेवी गजेन्द्र सेर्माले कुम्मायक, फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।
रोजगारको सिलसिलामा दक्षिण कोरियामा रहेका सेर्माले कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन सो स्वास्थ्य सामग्री प्रदान गरेका हुन् ।
सेर्माले चार लाख रकमको बराबरको ज्वरो नाप्ने थर्मलगन, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री सहयोग गरेका हुन् । सेर्माले पठाएको सामग्री उनका दाजु घनेन्द्र सेर्मामार्फत पालिकाका विभिन्न केन्द्रमा वितरण गरिएको छ ।
मिक्लाजुङ गाउँपालिकाका १ र २ नं वडाका लागि ३५ वटा थर्मलगन, ६ हजार ४ सय पिस सर्जिकल मास्क, फाल्गुनन्द गाउँपालिका वडा नं ६ का लागि ६ वटा थर्मलगन, ४ हजार ५ सय पिस मास्क, कुम्मायक गाउँपालिका वडा नं १ का लागि २४ वटा थर्मलगन, २ का लागि ३० वटा थर्मलगन र ४ हजार ९ सय ९४ पिस सर्जिकल माक्स, ३ का लागि १६ वटा थर्मलगन , वडा नं ४ का लागि १२ वटा थर्मलगन र वडा नं ५ का लागि १६ वटा थर्मलगन गरी १ सय ४७ थर्मलगन र १५ हजार ९ सय पिस सर्जिकल माक्स सहयोग गरेका छन् ।
समाजसेवी सेर्माले एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को रोकथाम तथा नियन्त्रणमा थप सहयोग पुगोस् भनेर आफूले स्वास्थ्य सामग्री सहयोग गरेको बताएका छन् । विगतका पनि उनले ब्यक्तिगत रुपमा कुम्मायक २ मा २ लाख १६ हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेका थिए ।
सेर्माले समाजका लागि अझै केही गर्ने इच्छा भएको बताउँदै थप हौसलाका लागि सञ्चारकर्मी सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।