काठमाण्डौ । चीनले नेपाललाई अनुदानमा थप १६ लाख डोज खोप दिने भएको छ । केही दिनभित्रै अनुदान र खरिद गरेको गरी २५ लाख डोज खोप आउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार चीनबाट अब अनुदानसहित ४८ लाख डोज खोप आउने निश्चित भएको छ । यसबाहेक थप खोप ल्याउन पनि पहल भइरहेको प्रवक्ता पौडेलले जानकारी दिनुभयो । केही समय अघि चीनबाट खरिद गरेर ल्याइएको ८ लाख डोज खोप अहिले वितरण भइरहेको छ ।

यसअघि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । यसैबीच, कोरोना भाइरसविरुद्धको खोप लिन आज नेपाल वायु सेवा निगमको जहाज चीन जाँदैछ । निगमका अपरेशन विभाग प्रमुख दीपुराज जुहार्चनले आजदेखि तीन उडानमार्फत नियमित खोप ल्याइने जानकारी दिनुभयो ।

उहाँका अनुसार चीनसँग खरिद गरिएका खोप लिन आज पौने ६ बजे गएर भोलि बिहान जहाज नेपाल आउने छ । यस्तै भोलि फेरि जहाज गएर पर्सि आउने छ । यस्तै, खोप लिन ९ गते जाने जहाजले १० गते खोप नेपाल ल्याउने छ ।

यसअघि असार २५ गते आठ लाख मात्रा खोप चीनबाट ल्याइएको थियो । सरकारले चीनबाट खोप ल्याएपछि नियमित रूपमा खोप अभियान पनि सञ्चालन गरिरहेको छ ।