काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिकामा अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीले निर्माण गरेको जानसेन खोप लगाएका एक वृद्धको मृत्यु भएको छ ।

परिवार कल्याण महाशाखाअन्तर्गतको खोप शाखाका अनुसार खोप लगाएर घर फर्किएका ती वृद्धको केही समयपछि मृत्यु भएको हो ।

यद्यपि, उनको खोप लगाएकै कारण वा अन्य कारणले मृत्यु भएको हो भन्ने चाहिँ अझै खुल्न सकेको छैन । यसबारे अध्ययन गर्न महाशाखाले एउटा टोली घटनास्थलमा पठाइसकेको छ ।

शाखाका प्रमुख डा झलक शर्मा गौतमले भने, ‘खोप लगाएका एक वृद्धको मृत्यु भएको खबर आएको छ । तर, खोप लगाएर नै उनको मृत्यु भएको हो या होइन भन्ने अहिले भन्न सकिन्न । यसका लागि हामीले टोली घटनास्थलमा पठाइसकेका छौँ । टोलीले अध्ययन गरेपछि मात्र ठोस कुरा भन्न सकिन्छ ।’ यो समाचार रातोपाटी डटकममा छ ।