आनन्द गौतम,
ताप्लेजुङ । दुर्लभ वन्यजन्तु नाउर कञ्चनजंघा क्षेत्रमा विगतकै संख्यामा रहेको पाइएको छ । नाउरको बासस्थान रहेको ३ हजार मिटरभन्दा माथिको क्षेत्रलाई चारवटा ब्लक बनाएर गणना गरिएको थियो ।

गणनामा गत वर्षकै हाराहारीमा पाइएको संरक्षण क्षेत्रले जनाएको छ । संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार ओलाङचुङगोला क्षेत्रको गणना गर्न बाँकी रहँदा १ हजार ४ सय २१ वटा पाइएको छ । स्थानीयमा देखिएको कोरोना संक्रमण र बन्दका कारण गोला क्षेत्रमा भने गणना हुन बाँकी छ ।

घुन्सा खम्बाछेन ब्लकमा ६ सय ४२, याङमामा ५ सय ३२ र रामजेलमा २ सय ४७ वटा पाइएको तिवारीले बताए । दुई वर्षअघिको गणनामा पनि यही हाराहारीमा रहेको थियो । पोथीको तुलनामा भाले नाउरको संख्या दोब्बरले बढी छ ।

तथ्यांकअनुसार पोथीको संख्या ४ सय ९५ छ । ८० बच्चा छन् । भालेपोथी नछुट्टिएका २७ छन् भने भाले मात्रैको संख्या ८ सय १६ छ । भालेमा वयस्कको संख्या २ सय ८ छ भने तरुण भाले २ सय ७ वटा छन् । किशोर २ सय ६ र अर्धवयस्क १ सय ९८ वटा छन् ।

कञ्चनजंघा क्षेत्रमा घुन्सादेखि पाङपेमा बेसक्याम्पसम्मको क्षेत्रलाई घुन्सा–खम्बाछेन, याम्फुदिनको रामजेल, चेइरामदेखि कञ्चनजंघा हिमालको पूर्वी बेसक्याम्पको क्षेत्रलाई राम्जेर, ओलाङचुङगोलाको याङमा क्षेत्रलाई याङमा र ओलाङचुङगोलादेखि मौवाटार हुँदै चीनको तिब्बतसँगको सिमानालाई गोला मौवाटार ब्लक बनाइएको छ ।

३८ सय मिटर माथि नाउर देखिने ठाउँमा टेलिस्कोपबाट हेरेर नाउरको गणना गरिन्छ । पानी पिउन खोलामा झरेको र चरनको मौका छोपेर गणना गरिन्छ । इकान्तिपुरबाट