झापा । स्वास्थ्य कार्यालय झापाले कोरोना संक्रमितका बारेमा दिँदै आएको विवरण गलत हुने गरेको पाइएको छ ।

हिजो (आइतबार) स्वास्थ्य कार्यालय झापाले दिएको दैनिक विवरण एकैछिनमा फरक फरक आएपछि त्यहाँबाट प्राप्त हुने सूचना, विवरण र तथ्यांकको सत्यतामाथि प्रश्न चिन्ह खडा भएको छ ।

यसबाट दैनिक रुपमा सो कार्यालयले प्रकाशित गर्ने गरेको कोरोना संक्रमितको विवरण गलत भएको पुष्टि भएको हो । कार्यालयले हिजो झापामा तीन बालबालिकाको कोरोना संक्रमणबाट मृत्यु भएको विवरण प्रकाशित गरेको थियो ।

स्वास्थ्य कार्यालयले कनकाईकी ३ वर्षिया बालिका, झापा गाउँपालिकाका ५ वर्षिय बालक र मोरङ लेटाङकी ६ वर्षिया बालिकाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरेको थियो । जुन गलत विवरण स्वास्थ्य कार्यालयका कोभिड पर्सन जीवन चौलागाईले आफ्नो फेसबुकमा पोष्ट गरेका थिए ।

यसअघि पनि फोकल पर्सन चौलागाईकै फेसबुक पोस्टका आधार मानेर सर्वसाधारण र सञ्चारकर्मीले सूचनाका रुपमा लिने गरेका थिए । तर, हिजोको पोस्टलाई आधार मानेर झापाका विभिन्न संचारमाध्यमले सम्प्रेषण गरेको समाचार केही क्षणमै गलत सावित भयो ।

पछिल्लोपटक अपडेट गर्दै फोकल पर्सन चौलागाईले कोरोना संक्रमणका कारण बालबालिकाको मृत्यु नभएर कनकाईकी ५७ वर्षिया महिला, झापा गापाका ७६ वर्षिय पुरुष र मोरङ लेटाङकी ३९ वर्षिया महिलाको मृत्यु भएको जनायो ।

उनले गल्तीबश त्यस्तो विवरण प्रकाशित भएको स्वीकारेका छन् । ‘गल्तीले बालबालिका भनेर गएछ’, उनले भने, ‘पछि त्यसलाई सच्याएका छौं ।’ यसअघि पनि पटक पटक स्वास्थ्य कार्यालयको तथ्यांक विवरणमा त्रुटि भेटिएको छ ।

फोकल पर्सन चौलागाईको फेसबुकमा पोस्ट हुने विवरण कम्प्युटरबाट प्रिन्ट गरिएको हुन्छ । स्वास्थ्यजस्तो सम्वेदनशील क्षेत्रमा जिल्लाकै फोकल पर्सनबाट गलत विवरण तथा सूचना प्रवाह हुँदा सर्वसाधारण भ्रमित हुने गरेका छन् ।

जिल्लाका पालिकाहरुले बुझाउने र स्वास्थ्य कार्यालयले प्रकाशित गर्ने विवरण प्रायगरी कहिल्यै मेल खाँदैन । आफूहरुले सही विवरण पठाए पनि स्वास्थ्य कार्यालयले हचुवाको भरमा तथ्यांक दिने गरेको पालिकामा रहेका स्वास्थ्य कर्मचारीको गुनासो छ ।