झापा । सरकारले उपलब्ध गराएको कोभिड १९ विरुद्धको भेरोसेल खोप झापा अर्जुनधारा नगरपालिकाको स्वास्थ्य शाखाले वडा वडामै उपलब्ध गराउने भएको छ ।

सरकारले यसपटक ५५ वर्ष र सो उमेर समूहमाथिका नागरिकका लागि खोप उपलब्ध गराउने निर्णय गरेसँगै अर्जुनधाराले वडामै खोप लगाइदिन व्यवस्थापन गर्न खोप व्यवस्थापन समितिले आज निर्णय गरेको हो ।

निर्णयअनुसार साउन १३ र १४ गते खोप लगाइने भएको छ । खोपको पहिलो मात्रा पनि नलगाएकाहरुलाई साउन १३ गते वडा नम्बर १ को सामुदायिक स्वास्थ्य इकाइ सिस्ने, ३ नम्बरको खुदुनाबारी चौकी, ४ नम्बरको अर्जुनधारा स्वास्थ्य चौकी, वडा नम्बर ५, ६, १० र ११ का लागि वडा कार्यालय स्थान तय गरिएको छ ।

यस्तै, सोही दिन वडा नम्बर ९ का नागरिकका लागि शनिश्चरे अस्पतालमा खोप लगाइने भएको छ । तर, सूचनामा वडा नम्बर २, ७ र ८ का नागरिकका लागि खोप लगाउने स्थान तोकिएको छैन । सम्भवतः २ नम्बरको खुदुनाबारी स्वास्थ्य चौकी, ७ र ८ को शनिश्चरे अस्पतालमा खोप लगाइन सक्ने नगरका एक कर्मचारीले बताए ।

साउन १४ गते पनि ३ नम्बर वडाका नागरिकलाई खुदुनाबारी स्वास्थ्य चौकी, ४ नम्बरका नागरिकलाई अर्जुनधारा स्वास्थ्य चौकी र ९ नम्बरका नागरिकलाई शनिश्चरे अस्पताल स्थान तोकिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले जारी गरेको सूचनाअनुसार यसपटक कोभिड १९ को जोखिममा रही काम गरिरहेका पेशागत कर्मचारीलाई पनि खोप लगाइने भएको छ ।

जसअनुसार साउन १५ र १६ गते खुदुनाबारी स्वास्थ्य चौकी, अर्जुनधारा स्वास्थ्य चौकी र शनिश्चरे अस्पतालमा विश्वविद्यालय, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक सवारीका चालक र सहचालकलाई खोप लगाइने भएको छ ।

यस्तै, नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा खटिएका व्यक्तिलाई पनि खोपको व्यवस्था गरिएको छ । जसमा सरकारी, संस्थानका कर्मचारी, सुरक्षाकर्मी, बैंक, वित्तीय संस्थाका कर्मचारी रहेका छन् ।

यसैगरी, खोप अनिवार्य गरेको देशमा वैदेशिक रोजगारीका सिलसिलामा जान लागेका व्यक्तिहरुलाई कागजात हेरी खोपको व्यवस्था गरिएको जनाइएको छ ।