काठमाडौँ । गण्डकी र लुम्बिनीका प्रदेश प्रमुख पदमुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार गण्डकीका सीताकुमारी पौडेल र लुम्बिनीका धर्मनाथ यादवलाई पदमुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश प्रमुखहरु पौडेल र यादवलाई पदमुक्त गराउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रधानमन्त्रीको सिफारिसअनुसार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश प्रमुखहरु पौडेल र यादवलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रिपरिषद् बैठकले लुम्बिनीमा अमिक शेरचन र गण्डकीमा पृथ्वीमान गुरुङलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस समेत गरेको थियो । इकान्तिपुरबाट