झापा । कोरोना संक्रमणको जोखिम बढेपछि सिंगो झापा जिल्ला नै सिल (निषेधाज्ञा) गर्ने तयारी गरिएको छ ।

एकपछि अर्को गर्दै जिल्लाका आधाभन्दा बढी पालिकाहरुले आ-आफ्नो क्षेत्र सिल गर्न थालेपछि पूरै जिल्ला नै सिल गर्ने तयारी थालिएको हो । जिल्लाका दमक, बिर्तामोड, कनकाई, बुद्धशान्ति, शिवसताक्षी, कमल, मेचीनगर र गौरादहले आ-आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरिसकेका छन् । जसलाई जिल्ला प्रशासन कार्यालयले अनुमोदन गरिसकेको छ ।

डिसीसीएमसीको बैठकले कोरोनाको जोखिम हेरेर सिल गर्न पाउने अधिकार पालिकाहरुलाई प्रदान गरेको छ । ‘हामीसँग समन्वय गरेर पालिकाहरुले त्यस्तो निर्णय गरेका छन्’, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले भने, ‘आएका सिफारिसलाई हामीले अनुमोदन गर्ने गरेका छौं ।’

त्यस्तै अन्य पालिकाका केही वडाहरुले पनि सिल गर्ने निर्णय गरेको प्रजिअ तिमिल्सिनाले बताए । उनले जिल्लाका सबै पालिकाका प्रमुखहरुलाई बोलाएर कोरोना संक्रमण रोक्न के गर्न सकिन्छ भनेर छलफल गर्न लागिएको जानकारी दिए ।

पालिकाका प्रमुखहरुको बैठक साउन १४ गते राखिएको छ । ‘कुन मोडालिटीमा पूरै जिल्लामा बन्दाबन्दी गर्न सकिन्छ त्यसबारे छलफल गरेर निर्णय गर्छौ’, उनले भने ।

यसैबीच पूर्वी नाका काँकडभिट्टासँग जोडिएको मेचीनगर नगरपालिका एक साताका लागि सिल गरिएको छ । कोरोना संक्रमण दरमा कमी नआएपछि मंगलवार नगरपालिकामा बसेको कोभिड १९ संक्रमण नियन्त्रण समितिको बैठकले साउन १३ गते मध्यराति १२ बजेदेखि साउन १९ गते मध्यराति १२ बजेसम्म नगरक्षेत्र सिल गर्ने निर्णय गरेको नगरपालिकाकी उपमेयर मिना उप्रेतीले जानकारी दिइन् ।