पर्वत पोर्तेल,
काँकडभिट्टा । पूर्ववर्ती सरकारको निर्णयअनुसार कोरोना रोकथामका लागि झापामा होल्डिड सेन्टर निर्माण सुरु भएको छ ।

पूर्वी सीमानाका काँकडभिट्टादेखि करिब २० किलोमिटर पश्चिम-दक्षिण मेचीनगर १४ को हडिया खोला बगरमा होल्डिड सेन्टर धमाधम बन्दै छ ।

यसअघि सरकारले काँकडभिट्टा नाका आसपासमा होल्डिड सेन्टर निर्माण गर्ने जनाएको थियो । तर, काँकडभिट्टा नाका आसपासमा जमिन नपाइएपछि हडिया खोला बगरको ४ बिघा ऐलानी जमिनमा होल्डिड सेन्टर बन्न थालेको हो । अर्ध स्थायी खालको होल्डिङ सेन्टरको क्षमता करिब हजार जना हो ।

मेचीनगर १४ का वडाध्यक्ष शंकरप्रसाद पोख्रेलका अनुसार नाकामा जमिन नपाइएको गुनासो आएपछि वडाले जमिन उपलब्ध गराएका हो । विगतमा हडिया खोला बगेको करिब १० बिघा जमिन वडाले संरक्षण गरेर राखेको थियो । वडाले यो जमिनमा खेलकुद रंगशालादेखि कृषि अनुसन्धान केन्द्र र बाल उद्यान निर्माणको योजना बनाएको थियो ।

देशभर आठ नाकामा एकै डिजाइनमा होल्डिड सेन्टर बन्दै छन् । सरकारले नेपाली सेनालाई निर्माण जिम्मा दिएको छ । सेनाले देशैभरि हनुमान कन्स्ट्रक्सनलाई निर्माण ठेक्का दिएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले असार तेस्रो साताबाट निर्माण सुरु भएको होल्डिड सेन्टर भदौ ३ गतेभित्र सम्पन्न गर्नुपर्ने छ । इकान्तिपुरबाट