झापा । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट बिर्तामोडका ३ जनासहित झापामा ६ जनाको ज्यान गएको छ ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका ३ जना, दमकका २ जना र कनकाई नगरपालिकाका १ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो ।

बिर्तामोडका ५६ वर्षीय पुरुष, ४३ वर्षीया र ३३ वर्षीया महिलाको संक्रमणबाट ज्यान गएको हो । उनीहरुको पीसीआर परीक्षण पोजेटिभ आएको थियो ।

यसैगरी, दमक नगरपालिकाका ६४ वर्षीय पुरष र ६३ वर्षीया महिला तथा कनकाई नगरपालिकाका ३९ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो सँगै झापामा मृत्यु हुनेको संख्या ४४३ पुगेको छ ।

यसैगरी, सोही अवधिमा झापामा २९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा सबैभन्दा बढी बिर्तामोडका ८४ जना रहेका छन् ।

बुधबारमात्र झापामा कोरोनाबाट ५ जनाको मृत्यु हुँदा ३३४ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा दमकका ८० जना थिए ।  झापामा कुल संक्रमितको संख्या २१ हजार ९१९ पुगेको छ । जसमा सक्रिय संक्रमितकाे संख्या ३ हजार ३४१ रहेकाे छ ।