बिर्तामोड । झापाको बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको एक सय भायल कोरोनाबिरुद्धको भेरोसिल खोपसहित पक्राउ परेका कोभिड फोकल पर्सन ओम खड्कामाथि कार्वाही गर्न चौतर्फी माग भएको छ ।

मानवअधिकार संजाल झापाले एक प्रेस विज्ञप्ति जारी नगरपालिकाका स्वास्थ्य शाखाका कर्मचारीबाटै खोप अनियमित रुपले होटलमा लुकाइराखेको अबस्थामा खोप बरामद हुनुले लज्जास्पद र निन्दनीय भएको जनाएको छ ।

महासचिव डा रुपकप्रसाद खनालले जारी गरेको विज्ञप्तिमा जनताको स्वास्थ्यसम्बन्धी अधिकारमाथि खेलवाड गर्ने बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका कर्मचारीलाई कार्वाही गरी आगामी दिनमा खोपलाई दुरुपयोग हुन नदिई सहज बनाउन बिर्तामोड नगरपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग माग गरिएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोड नगर समितिले पनि कार्वाहीको माग गरेको छ । नगर अध्यक्ष रन्जु प्याकुरेलले एक विज्ञप्ति जारी गरी जनस्वास्थ्यसँग जोडिएको संबेदनशील बिषयमा जिम्मेवार निकायका व्यक्ति नै संलग्न रहनुले जनआक्रोश चुलिएको अवस्थामा सत्य तथ्य छानबिन गरी जनतालाई सुसूचित गर्न र त्यस्ता कर्मचारीलाई अबिलम्ब कार्वाही गर्न स्थानीय सरकारसमक्ष माग गरेकी छन् ।

त्यस्तै सामाजिक संजालमा विभिन्न व्यक्तिहरुले आक्रोश पोख्दै कार्वाहीको माग गरेका छन् । ‘बिर्तामोड नगरपालिका विभिन्न भ्रष्टाचारीहरुको अखडा नै भएको हो त ? भ्याक्सिन पनि भ्रष्टाचार गर्न छाडेनन् भने अरु के भएको होला ?’ लोकबन्धु कन्दङ्वाले लेखेका छन् ।

त्यस्तै विनोद बस्नेतले लेखेका छन्, होटलमा खोप ! कडा कार्वाही होस्, बिर्तामोड स्वास्थ्य शाखाका कोभिड फोकल पर्सन ओम खड्काले १०० भायल खोप लुकाइछिपाइ अनियमितता गरी राखेको अवस्थामा फेला पर्नुले खोपको कालोबजारी कसरी भइरहेको छ भन्ने प्रष्ट हुन्छ । फ्रन्टलाइनमा काम गर्ने पेट्रोलियम मजदुरलाई खोप नदिने, तीनपुस्ते विवरण माग्ने, हजारौं वृद्ध बुवाआमालाई तातो घाममा दिनभर उभ्याएर खोप सकियो भन्दै फर्काउने तर अनियमित ढंगबाट पहुँचमा बसेकालाई खोप विक्री गर्ने माफिया खड्काजी र उनीसँग यस धन्दामा मिलेमतो गर्ने सबैलाई बर्खास्त गरी कडा कार्वाही गरियोस् । कोभिड शुरु भएदेखि फोकल पर्सनको नाममा खड्काजीको व्यापारिक धन्दा मौलाएको र केही कर्मचारीसंग साँठगाँठ गरी राम्रो कमाइ गरेको पनि बजारमा प्रशस्त सुनिन्छ । यसको पनि छानबिन होस् ।

त्यस्तै सुवास भट्टराईले तातो घाममा नागरिक उभ्याएर, होटल–होटलमा खोप लगेर चरम कालोबजारी गर्ने जो कोही होस् हदैसम्मको कार्वाही गर्न स्थानीय प्रशासनसमक्ष माग गरेका छन् ।

त्यसैगरी सजेश शिवाकोटीले लेखेका छन्- बिर्तामोड नगरपालिकाले साउन १२–१५ गतेसम्म लगाएको खोपको जानकारी सार्वजनिक गर । खोपको अनियमितताको पराकाष्ठा हुँदैछ । खबरदार ।

त्यस्तै गजेन्द्रबहादुर पौडेलले लेखेका छन्- बिर्तामोडका फोकल पर्सनबारे धेरै कुराहरू सुनिएको थियो आज प्रमाण नै भेटियो । यति निच र गैरजिम्मेवार व्यक्तिले राजीनामा दिनुपर्छ । बिर्तामोडबासीमाथि यत्रो खेल ? यो प्रतिनिधि घटना मात्र हो । योभन्दा अगाडि यस्ता कति घटना थाहै पाइएन होला ? बिर्तामोड नपाले खोपको विवरण सार्वजनिक गर्नुपर्छ ।

यसैबीच, पक्राउ परेका खड्का राति नै छुटेका छन् । बिर्तामोड प्रहरीले बरामद खोपसहित पक्राउ परेका खड्कालाई स्वास्थ्य कार्यालयको जिम्मा दिएको प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।

उनलाई स्वास्थ्य कार्यालयले पनि राति नै छोडिदिएको बिर्तामोड स्वास्थ्य शाखा प्रमुख तुलसी पोखरेलले बताए ।