बिर्तामोड । बिर्तामोड नगरपालिकाले कोरोनाविरुद्धको खोप लुकाएको आरोप लागेका ओम खड्कालाई स्वास्थ्य शाखाको कोभिड फोकल पर्सनबाट हटाउने लगायतका निर्णय गरेपछि विद्यार्थीहरुले हिजो लगाएको ताला खोलिदिएका छन् ।

आज इलाका प्रहरी कार्यालय बिर्तामोडमा विद्यार्थीसहित भएको सर्वदलीय छलफलमा आरोपी खड्कालाई स्वास्थ्य शाखाको फोकल पर्सनबाट हटाउने, अर्को फोकल पर्सन नियुक्त गर्ने, खोप लुकाएको घटनामा दोषी पाइए खड्कालाई पदबाट बर्खास्त गर्ने, खोपको विवरण सार्वजनिक गर्ने, खोप कार्यक्रमको खर्च सार्वजनिक गर्ने निर्णय भएकाे छ ।

यस्तै, अबको खोप कार्यक्रमलाई व्यवस्थित गर्ने, वडाबाटै खोप वितरण गर्ने, उमेर समूहलाई मात्र खोप लगाइदिने, फ्रन्टलाइनर भनेर खोप नदिने, खोप कार्यक्रमको अनुगमनका लागि युवाहरुलाई स्वयंसेवक खटाउनेलगायतका निर्णय भएको छलफलमा सहभागी नेपाली काँग्रेसका नगर सभापति तथा ३ नं वडाध्यक्ष भोजराज सिटौलाले बताए । करिव ४ घण्टाको छलफलपछि ताला खोल्ने सहमति भएको उनले बताए ।

खड्कालाई कार्वाहीको माग गर्दै हिजो बिहान नेपाल विद्यार्थी संघ र क्रान्तिकारी संगठनका विद्यार्थीहरुले नगरपालिका कार्यालयमा ताला लगाएका थिए । बैठकका सहभागीहरुले बिर्तामोड क्षेत्रभित्र खड्कालाई काम गर्न निषेध गर्नुपर्ने माग गरेका थिए ।