झापा । झापाको मेचीनगर नगरपालिकाले कृषि पेशामा आबद्ध ६८ किसान तथा कृषकसँग सम्बन्धित संस्थालाई विभिन्न कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ ।
नगरपालिकाले आज सोमबार एक संक्षिप्त कार्यक्रमका बीच विभिन्न कृषक, कृषि फर्म, कृषक समूह, कृषि सहकारीलाई कृषि यन्त्र तथा उपकरण हस्तान्तरण गरेको हो ।
नगर प्रमुख विमल आचार्यले कृषि क्षेत्रमा अब परम्परागत तरिकाले भन्दा पनि आधुनिक कृषि यान्त्रिकरणको प्रयोगले मात्र सफल हुन सकिने भन्दै किसानलाई आधुनिक कृषियन्त्रवितरण गरिएको बताउनुभयो ।
नगरपालिकाले ५० प्रतिशत अनुदानमा वितरण गरेको कृषि यन्त्र तथा औजारमा ४० लाख ५२ हजार ८ सय रुपैयाँ खर्च गरेको छ । यो आव ०७७/०७८ कै कार्यक्रम हो ।
नगरपालिकाले हाते ट्याक्टर २७, कुटि काट्ने मेसिन ४७, मकै गोड्ने मेसिन ६, व्हील व्यारो १२ तथा धान काट्ने मेसिन र साइलेज कटर एक, एकवटा वितरण गरेको आर्थिक विकास शाखाका प्रमुख दिपेन्द्र कार्कीले बताउनुभयो ।
नगर प्रमुख विमल आचार्य तथा उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा कृषि यन्त्र तथा उपकरणहरू हस्तान्तरण वितरण गर्नुभएको थियो ।