झापा । अर्जुनधारा नगरपालिकामा रहेका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ ।

सरकारले निर्धारण गरेको उमेर समूहअन्तर्गत अर्जुनधाराका नागरिकलाई नगरको तीन स्थानमा खोप लगाउने तयारी गरिएको खोप व्यवस्थापन समितिका अध्यक्ष तथा मेयर हरिकुमार रानाले बताए ।

उपमेयर कमला खतिवडा आचार्य, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौँलागाईलगायत नगरका वडाध्यक्ष, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा राजनीतिक दलका प्रतिनिधि सम्मिलित खोप व्यवस्थापन समितिको बैठकले खोप केन्द्र निर्धारण गरेको हो ।

मेयर रानाका अनुसार उमेर समूह र लक्षित समूहका नागरिकलाई साउन २१ गते र २२ गते खोप लगाउने निर्णय भएको छ । जसमा साउन २१ गते अर्जुनधारा १, २ र ३ नम्बर वडाका लागि खुदुनाबारीको जनता मावि, ४, ५ र ७ नम्बरका लागि ४ नम्बर वडाको स्वास्थ्य चौकी स्थान निर्धारण गरिएको छ ।

यस्तै, ६, ८ र ९ नम्बर वडाका लागि शनिश्चरे माविको प्रांगण तोकिएको छ भने १० र ११ वडाका लागि साउन २२ गते समय तोकिएको छ । सोही दिन लक्षित समुदायका नागरिकलाई पनि खोपको व्यवस्था गरिएको छ ।

यसपटक लक्षित समुदायका नागरिकका लागि २० प्रतिशत खोप लगाउने निर्णय खोप व्यवस्थापन समितिले गरेको छ । जसमा शिक्षक, बैक तथा वित्तीय संस्थाका कर्मचारी, फोहोर व्यवस्थापन, सवारी चालक, अपांगता भएका व्यक्तिलगायत रहेका छन् ।

अर्जुनधारा नगरपालिकाका लागि ३०२० डोज खोप नेपाल सरकारबाट मंगलबार नै उपलब्ध भइसकेको छ । यसअघि वडा वडामा सञ्चालित खोप अभियानमा ३ हजार ९९३ जनाले भेरोसिल खोप लगाएका थिए ।