सिन्धुपाल्चोक । हेलम्बु र मेलम्ची क्षेत्रमा आएको बाढीले हालसम्म १०८ घर बगाएको छन् । गत साउन १६ देखि आएको बाढीले मंगलबार साँझसम्ममा पक्की घर ४५ वटा र कच्ची घर ६३ वटा बगाएको हो ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार हेलम्बु गैरावेशीको एक घर, ग्याल्थुम र ढुङ्ग्रेबजारको ३१ घर, चनौटेका २३ घर, चिउडीखर्क र तल्लो तिम्बुको ११ घर, चनौटे, चेप्टे र किउलका १९ घर, तालामाराङका ६ घर, हेलम्बु ७ का ४ घर, मेलम्ची ११ का ४ घर, मेलम्ची ६ का ५ घर र मेलम्ची ७ का ३ घर बाढीले बगाएको छ ।

एक कच्ची पुल, एक झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । त्यस्तै दुई पक्की पुलको अवस्था अज्ञात छ । बाढीले पुल छोपेपछि ती पुलको अवस्था अज्ञात भएको हो । त्यस्तै फर्निचर उद्योग एक, रेडियो मेलम्चीको भवन एक र इस्ट पोइन्ट स्कुल पनि बाढीले बगाएको छ । यी संरचनाहरु असार १ को बाढीबाट प्रभावित थिए ।

विस्थापित कति ?
साउन १६ मा आएको बाढीले घर बगाएपछि १ सय ८ परिवार विस्थापित भएका छन् । हेलम्बु गैरावेशीका एक परिवार, ग्याल्थुम र ढुङ्ग्रेका ३१ परिवार, चनौटेका २३ परिवार, चिण्डीखर्क र तल्लो तिम्बुका ११ परिवार, चनौटे र किउलका १९ परिवार, मेलम्ची नगरपालिका तालमाराङका ६ परिवार र हेलम्बु ७ का ४ परिवार, मेलम्ची ११ पिपलबोटका ४ परिवार, मेलम्ची ६ नरेका ५ परिवार र मेलम्ची ७ सुघुरेका ३ परिवार गरी १०८ परिवार विस्थापित भएका छन् ।

उनीहरु मध्ये ९६ घरपरिवार आफन्तको घर तथा सुरक्षित स्थानमा त्रिपाल र टेन्ट राखी बसेका छन् भन् बाँकी १२ परिवारलाई सुरक्षित स्थानमा सार्ने पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

जोखिममा २२ घर
हेलम्बु र मेलम्ची क्षेत्रका २२ घर बाढीको उच्च जोखिममा छन् । उनीहरुलाई स्थानान्तरण गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिनुभयो । हेलम्बु गाउँपालिका ४ चिलाउनेघारीका १ घर, हेलम्बु २ किउलका ६ घर, मेलम्ची नगरपालिका ११ मेलम्ची बजारका १३ घर र मेलम्ची नगरपालिका ६ तालमाराङका २ घर गरी २२ घर बाढीबाट अति जोखिममा छन् ।

ती घरबाट स्थानीय र प्रहरीले सामानहरु सुरक्षित स्थानमा सारिसकेका छन् । त्यस्तै मेलम्ची नगरपालिका ६ तालामाराङमा रहेको प्रहरी चौकी तालामाराङमा पानीको बहाब बढेसँगैं उच्च जोखिममा छ । उक्त चौकी ५ सय मिटर माथिको तेस्रे माविको विद्यालय भवनमा सारिएके छ ।

असार १ बाट छैन बिजुली
हेलम्बु गाउँपालिका १ मा र अन्य केही वडामा विद्युत आपूर्ति बन्द भएको छ । जसका कारण संचार साधन मिलानमा समस्या भएको प्रहरीले जनाएको छ । मानिसको जीवन पनि बतीका कारण असहज भएको छ । साँझ नपर्दै खाना खाएर सुत्नुपर्ने स्थानीयको बाध्यता छ ।

सडकको स्थिति
हेलम्बु गाउँपालिका पूर्णरुपमा सडक सञ्जालबाट टुटेको छ । चनौटेमा रहेको रातो पुल बगाएपछि हेलम्बु सडक सञ्जालबाट टुटेको हो । त्यसभन्दा यता पनि विभिन्न ठाउँमा खोलाले सडक कटान गरेको छ ।

हेलम्बु र ग्याल्थुम बजार र ढुङ्ग्रे बजारको करिब ७ सय मिटर बाटो खोलाले कटान गरेको छ । उक्त स्थानमा पैदल यात्रुसमेत हिडडुल गर्न समस्या भएको छ । स्थानीय र सडक डिभिजन कार्यालयको सहकार्यमा सडक खुलाउने प्रयास भइरहेको छ । इमेज खबरबाट