शनिश्चरे । झापाको अर्जुनधारामा स्थानीयबासीले दुर्व्यसनको अखडा बन्दै गएको क्षेत्रमा ताला लगाइदिएका छन् ।

प्रदेश सरकारको आर्थिक सहयोगमा अर्जुनधारा नगरपालिका ८ स्थित नयाँ बजार (प्लटिङ क्षेत्र)स्थित सातपत्रेमा निर्माणाधीन सटरहरुमा स्थानीयले ताला लगाइदिएका हुन् ।

कृषि थोकको प्रयोजनका लागि यहाँ पाँच वटा भवनमा ७७ वटा सटर निर्माण गरिएको छ । ठेक्काअनुसारको भवन निर्माण भइनसकेको नगरपालिकाको भनाइ छ । तर, निर्माण सम्पन्न भइसकेका सटरहरुमा दुव्यर्सनमा फसेका युवाहरुको अखडा बनेको छ ।

स्थानीयका अनुसार शनिश्चरे, अर्जुनधारा क्षेत्रका कुलतमा लागेका युवाहरुले लागुऔषध सेवनका लागि ती सटरहरु सुरक्षित स्थलका रुपमा प्रयोग गर्ने गरेको, गाउँघरमा चोरी बढेको, महिलाहरु पनि असुरक्षित भएपछि स्थानीयबासी जागरुक भएका हुन् ।

अर्जुनधारा ८ को टोल सुधार समिति र स्थानीय बासिन्दाले बिहीबार ७७ वटै सटर र २ वटा शौचालयमा ताला लगाएर वडा कार्यालयलाई चाबी हस्तान्तरण गर्यो । सटर बनिसक्दा पनि ताला नलगाइँदा दुव्यर्सनीमा लागेका युवाले प्रयोग गर्दै आएको उनीहरुको भनाइ छ ।

स्थानीय बासिन्दाले लगाएको तालाको चाबी बुझ्दै वडाध्यक्ष गोपीचन्द्र गौतमले लागुऔषध सेवनको न्यूनीकरणमा स्थानीयबासी लागेकोमा खुसी व्यक्त गरे । उनले स्थानीय नै जागरुक भएपछि पूर्णरुपमा नभए पनि केही कमी आउने विश्वास व्यक्त गरे ।

लागुऔषध दुव्यर्सनीका संख्या बढिरहेको भन्दै उनले यसको न्यूनीकरणका लागि पहिलो कदम परिवारबाटै चालिनुपर्नेमा जोड दिए । स्थानीयको सकारात्मक कदम भन्दै उनले धन्यवाद पनि दिए ।

पहाडी जिल्लामा उत्पादन हुने कृषिजन्य बस्तुको कारोबारका लागि सटरहरु निर्माण गरिए पनि केही बाँकी रहेको र प्रदेश सरकारले हस्तान्तरणसमेत नगरेकाले व्यवस्थापन गर्न समस्या रहेको उनले बताए ।

१० कठ्ठा १५ धुरमा बनेको उक्त भवनको सुरुवाती लागत २ करोड भए पनि थप कति खर्च भएको भन्नेबारे आफू अनभिज्ञ रहेको वडाध्यक्ष गौतमले बताए ।

स्थानीयबासी तथा पत्रकार कुमार भट्टराईले स्थानीय बासिन्दाको समस्या, दुर्व्यसनी र त्यसबाट हुने गरेका सामाजिक असरका बारेमा वडाध्यक्ष गौतम र वडा सदस्य सेवन्त ढकाललाई जानकारी गराएका थिए ।