झापा । अत्याधिक गर्मीका कारण आज झापामा दुई जनाको मृत्यु भएको छ ।
बितेको २ दिनदेखि झापामा अत्याधिक गर्मी बढेको थियो । गर्मीका कारण बेहोस भएर ढलेको अबस्थामा आज दुई जनाको शव फेला परेको हो । बिर्तामोड नगरपालिका वडा न. ३ स्थित अनारमनी स्वास्थ्य चौकी अगाडि ३० वर्षिया कुमारी श्रेष्ठ मृत फेला परेकी हुन् ।
बिर्तामोड १० सैनिकबजार घर भएकी उनी केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेको उनका श्रीमान् मिलन श्रेष्ठले बताएका छन् । अत्याधिक गर्मीमा मदिरा सेवन गरेका कारण उनी ढलेको हुनसक्ने इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए ।
त्यस्तै अर्जुनधारा ५ बस्ने ६० वर्षिय शुक्र दनुवारको माछा मार्दामार्दै ढलेर मृत्यु भएको छ । बिरीङ खोलामा माछा मारेर खोलाको डिलमा बसेका उनी त्यही ढलेको प्रहरी नायव उपरीक्षक आचार्यले बताए ।