शिशुका आमा शर्मिला चौधरी ।

झापा । उपचार खर्च तिर्न नसक्दा भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले झापाका ४ महिने शिशुलाई बन्धक बनाएको छ ।

उक्त नसिंङ होमले झापा मेचीनगर नगरपालिका वडा नंं १० खयरडाँगीका चार महिनाको शिशु सुहान चौधरीलाई बन्धक बनाएको हो । सो शिशुलाई उपचारका लागि साउन १५ गते अस्पताल भर्ना गरिएको थियो ।

आन्द्रा दोब्रिएर विरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई रुँघेर बसेकी आमा शर्मिला चौधरी र वुवा सनम चौधरीलाई हस्पिटल प्रशासनले पैसा खोज्न दवाव दिएर घर फर्काइदिएको छ ।

हस्पिटलले उपचारमा भारु एक लाख लागेको बताएपछि चार दिन अघि शुल्क बुझाउन दवाव दिएको थियो ।

खोलामा ढुङ्गागिटी चालेर जसोतसो हातमुख जोड्दै आएको चौधरी परिवारसँग आर्थिक स्रोत नभएपछि स्थानीयले चन्दा उठाएर दिएको रु ५४ हजार लगेर बुझाएका थिए । अरु रकम बुझाउन नसकेको भन्दै शिशुको आमालाई हस्पिटलमा राखेर परिवारका अरु सदस्यहरुलाई पैसा खोज्न पठाएको थियो ।

ऋण खोजेर थप रु एक लाख १५ हजार शनिवार लगेर बुझाउँदा हस्पिटल प्रशासनले बिल बढेको भन्दै अरु भारु ५० हजार नल्याएसम्म बच्चा लैजान नदिने भनेको शिशुकी आमा शर्मिला चौधरीले बताइन् । हस्पिटलले शनिवार शिशुलाई मात्र हस्पिटलमा राखेर शिशुकी आमालाई समेत पैसा खोज्न नेपाल फर्काइदिएको छ । हाल शिशु हस्पिटलमा एक्लै छ ।

कोरोना महामारीले झापामा निषेधाज्ञा जारी भएका कारण चन्दा उठाउने अभियान सञ्चालन गर्न नसकिएको जनाउँदै चौधरी परिवारका छिमेकी युवा वीपी भट्टराईले छरछिमेकीसँग हारगुहार गरेर रु ५४ हजार चन्दा संकलन गरिएको बताए ।

चार महिनाको सो शिशुलाई पेट फुल्ने समस्या देखा परेपछि सुरुमा मेचीनगरकै शिखर हस्पिटलमा लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विर्तामोडको अञ्जलि हस्पिटल पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानका चिकित्सकहरुले आन्दा दोब्रिएर पेट फुलेको जनाउँदै तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यसबेला धरानमा चिकित्सकहरुको आन्दोलन चर्किरहेको हुँदा त्यहाँबाट अन्यत्रै लैजान भनिएको शिशुकी आमा शर्मिलाले बताएकी छन् ।

नेपालका अस्पताल डुलाउँदा डुलाउँदै बच्चाको स्वास्थ्य अवस्था नाजुक भएपछि बाध्य भएर भारतको सिलिगुडी पुर्याउनु परेको उनले बताइन् । शर्मिलाले चिन्तित हुँदै भनिन्, ‘मेरो बच्चा अस्पतालमै बन्धक राखेर मलाई घर पठाइदियो । अब म के गरुँ ?’