बिर्तामोड । झापाको बिर्तामोडमा आगलागी भएको छ । बिर्तामोडस्थित थापा मार्केटको दोस्रो तलामा रहेको कपडा पसलमा आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
आगलागीबाट सूर्य अधिकारीको कपडा पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । उक्त मार्केट नजिकै एक्सल बैंक पनि रहेको छ ।
आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन । बिर्तामोडको मुक्तिचोक नजिकैाे मार्केटमा आज साँझ आगलागी भएको थियो । मार्केटभित्र रहेको अधिकारीको रिद्धिसिद्धि वेयर कलेक्सन नामक रेडिमेड कपडाको पसलमा आगलागी भएको हो ।
विद्युत सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । साँझ पौने ७ बजे भएको सो आगलागीलाई बिर्तामोड र मेचीनगरको दमकलले नियन्त्रणमा लिएका प्रहरीले जनाएकाे छ ।