झापा । बिर्तामोडको एक होटलमा कोरोनाविरुद्धको खोप भेटिएको घटनाका विषयमा छानबिन गर्न बनेको समितिले आज प्रतिवेदन तयार गर्ने भएको छ ।

झापाका सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको नेतृत्वमा बनेको पाँच सदस्यीय समितिले आज प्रतिवेदन तयार गर्ने भएको हो । गत साउन १६ गते गठित छानबिन समितिले एक साताको म्याद पाएको थियो । त्यस म्यादभित्र अनुसन्धान नसकिएपछि फेरि एक साताको म्याद थपिएको थियो ।

दुई साताको म्याद सकिएकाले आज निश्कर्षसहितको प्रतिवेदन तयार गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी रिमालले बताए । ‘आज हामी सबै अध्ययन अनुसन्धानको बिश्लेषण गर्छौं’, उनले भने, ‘त्यसपछि प्रतिवेदन तयार गर्छौं ।’

उनले आफूहरुले गहिरो अध्ययन अनुसन्धान गरेको बताउँदै केही प्रमाण खोज्न बाँकी देखिए अझै दुई दिनको समय माग्नका लागि अनुरोध गर्ने जानकारी दिए । घटनाको विषयमा फिल्डमा गएर बुझ्नका लागि समितिलाई एक साता लागेको उनले जानकारी दिए ।

समितिको सदस्यमा समन्वय समिति झापाका समन्वय अधिकारी लालबहादुर श्रेष्ठ, प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापा, सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका डिएसपी प्रेम प्रसाईँ र अनुसन्धान अधिकृत किरण भट्टराई रहेका छन् ।

समितिले बिर्तामोड नगरपालिकास्थित टाइमलेस मोमेन्ट होटेलमा कोरोनाविरुद्धको खोप कार्टुनसहित बिर्तामोड नगरपालिकाका कोरोना फोकल पर्सन ओम खडका शंकास्पद अवस्थामा फेला परेको सम्बन्धमा छानबिन गरी प्रतिवेदन बुझाउने छ । छानबिन शुरु भएपछि घट्नामा संलग्न भनिएका खड्का यसअघि नै निलम्बित गरिएका छन् ।