अर्जुनधारा । झापाको अर्जुनधारा ७ पाराखोपीस्थित डाङग्रे बाबा-सेतीदेवी-पाथीभरा माता धाम परिसरमा दाताहरुले दुई वटा ट्रस्ट निर्माण गरिदिएका छन् ।

नवनिर्मित दुई वटा ट्रस्टको बिहीबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । धाम उत्पत्तिकर्ता विकास राईबाट उद्घाटन गरिएको ट्रस्टहरु सामाजिक अभियन्ताद्वय मीना राई र चर्तुभूज काफ्लेको समन्वयमा निर्माण भएको धाम संरक्षण समितिका अध्यक्ष इन्द्रबहादुर मगर ‘काली’ले जानकारी दिए ।

धाम परिसरभित्र रहेको साइँली पाथीभरा माताको पूजास्थल र धाम बाहिर रहेको पूजास्थलमा छुट्टा छुट्टै निर्माण गरिएको उक्त ट्रस्टको जम्मा लागत एक लाख रुपैयाँ रहेको सामाजिक अभियन्ता राईले जानकारी दिइन् ।

ट्रस्ट निर्माणका लागि हाल अमेरिकामा रहेका दाता रमेशकुमार राई र मनोज राईबाट जनही २५ हजार रुपैयाँ प्राप्त भएको थियो । त्यसैगरी हाल दुबईमा रहेका तारा बुढाथोकी, इन्द्रमाया राई, तारा सुब्बा, मीना राई र सुमिन्द्र तिम्सिनाबाट जनही १० हजार रुपैयाँ प्रदान गरिएको बताइएको छ ।

सोही कार्यक्रमको अवसरमा दाता बुढाथोकीबाट स्थानीय दुई जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा फूलकुमारी दनुवार र मनमाया लिम्बू रहेका छन् ।

समितिका अध्यक्ष मगरको अध्यक्षतामा आयोजित कार्यक्रममा दाताहरुलाई धामको तस्वीर मायाको चिनोस्वतरुप प्रदान गरिएको थियो ।