कोकिला ढकाल,
इलाम । गएको वर्ष जेठ १५ गते झुण्डिएर आत्महत्या गरेको अवस्थामा इलाम नगरपालिका ८ की १४ वर्षीया बालिका दिलासा दङ्गाल घर नजिकै फेला परिन् ।

घटनाको अनुसन्धान गर्दा प्रहरीले बलत्कारपछि आत्महत्या गरेको ‘सुसाइट नोट’ फेला पार्यो । घटनामा संलग्न भएको आशंकामा प्रहरीले भोलिपल्टै छिमेकी अमरप्रसाद ढुङ्गानालाई पक्राउ गर्यो । साइनोले मामा पर्ने ढुङ्गानाविरुद्ध प्रहरीले जिल्ला अदालतमा आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा दर्ता गरि कार्वाही अघि बढायो ।

अदालतले गएको पुस ६ गते उक्त मुद्दाको सुनुवाई गर्दै आरोपित ढुङ्गानालाई जबरजस्ती करणीतर्फ १८ वर्ष, हाडनाता करणीमा एक वर्ष, आत्महत्या दुरुत्साहनमा एक वर्ष गरि २० वर्ष कैद सजायको फैंसला गर्यो ।

परिवार र आफन्त भित्रैबाट घटेको यो घटना उदारणमात्र हो । अहिले आफ्नै मामाकी छोरी, काकाकी छोरीमाथि पनि बलत्कारका घटना भएको तथ्य जिल्ला अदालत इलाममा छ ।

गएको वर्ष चार वर्षकी बालिकादेखि वृद्ध अवस्थाका महिलाहरुमाथि समेत बलात्कारका घटना भएको पाइएको जिल्ला अदालतका श्रेस्तेदार फडिन्द्र भट्टराईले बताए । उनी भन्छन्, ‘घरमा अभिभावक नभएको अवस्थामा, आफ्नो नानीलाई छरछिमेकमा हेर्न छोडेर आफू काममा गएको बेला नाबालिकामाथि समेत बलात्कारका घटना भएको पाइएको छ ।’

श्रेस्तेदार भट्टराईका अनुसार जिल्लामा गएको वर्ष ५० वटा बलत्कारका घटना भएका छन् । अदालतमा दर्ता भएका यी मुद्दामध्ये २९ वटाको त फैसला नै भइसकेको छ । बलत्कार मात्र होइन यो वर्ष जिल्लामा पत्नी हत्याका घटना पनि संख्यात्मक रुपमा बढेको छ ।

पत्नी हत्या घटना पनि जिल्लामा भइरहेको पाइन्छ । गएको पुस २१ गते देउमाई नगरपालिका ८ की २७ वर्षीय नम्रता राई निजकै ३३ वर्षीय पति सुबास राईले खुकरी प्रहार गरि हत्या गरे ।

फागुन २ गते राति चिर्पटले सूर्योदय नगरपालिका ५ की १९ वर्षीया गीता तामाङको पनि निजका पति २३ वर्षीय दिनेश तामाङले हत्या गरे । जेठ २८ गते देउमाइ नगरपालिका ४ चित्रेका ४५ वर्षीय ताकबहादुर तामाङले निजकी ४६ वर्षीया पत्नी सूर्जामाया तामाङको दाउले घाँटी रेटेर हत्या गरे ।

चैत ७ गते इलाम नगरपालिका ३ का ५२ वर्षीय देउराम राईले ४४ वर्षीया पत्नी कमला राई, १२ वर्षीया छोरी प्रमिला राई र छिमेकीका छोरा १५ वर्षीय अनुप राईलाई खुकुरी प्रहार गरि घाइते बनाएपछि आफू झुण्डिएर आत्महत्या गरे ।

त्यसो त जिल्ला अदालतका अनुसार पनि गएको वर्ष जिल्लामा महिला सम्बन्धी ३०६ मुद्दा दर्ता भएका छन् । तीमध्ये १९२ मुद्दा अदालतले फछ्र्यौट गर्यो । अझै ११४ वटा महिला सम्बन्धी मुद्दा अदालतले फैसला गर्नै बाँकी छ ।

पछिल्लो समय भएको महिला हत्याको काण्डले प्रहरी सुरक्षामा थप सतर्क बन्नु पर्ने अवस्था रहेको इलामका प्रहरी उपरीक्षक महेन्द्र श्रेष्ठको भनाइ छ ।

‘एक महिनाअघि अदालतभित्र, सुरक्षा घेराभित्रै भएको महिला हत्याको घटनाले हामी सचेत भएका छौं । जनमानसमा पनि सुरक्षा सम्बन्धी सचेतना अझै फैलाउन जरुरी देखियो’, प्रहरी प्रमुख श्रेष्ठले भने ।