सुनसरी । सप्तकोशी नदीमा यस वर्षकै उच्च वहाव मापन भएको छ । केहीदिन यता निरन्तर बढ्दो क्रममा रहेको नदीको वहाव आज यस वर्षकै उच्च विन्दुमा पुगेको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार पछिल्लो मापनअनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७९० क्यूसेकप्रतिसेकेण्ड बहाव पुगेको छ । नदीको बहाव बढेसँगै कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् ।

साउन ३२ गते कोशीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो । पछिल्लो मापनले सो रेकर्डलाई समेत उछिनेको छ ।

पूर्वका अधिकांश भेगमा वर्षा जारी रहेकाले कोशीको जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । चतरामा रहेको बाढी मापन केन्द्रले समेत नदीको जलस्तर बढ्दो क्रममा देखाएको छ । जसका कारणसमेत कोशी ब्यारेजमा गरिने पछिल्ला मापनमा बहाव थप बढ्ने आंकलन गरिएको छ ।

यसैबीच निरन्तरको वर्षासँगै कोशीको बहावमा निकै नै उतारचढाव देखिँदा श्रीलंका टापु क्षेत्रमा नदीले कटान थालेको छ । नदीमा आएको उतार चढावका कारण यस अघिका सातामै कटान लागेको सो क्षेत्रको कतिपय स्थानमा पूनः कटान सुरु भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नदीले टापु क्षेत्रका केहि स्थानमा कटान गरेको खबर प्राप्त भएको बताउनुभयो । उहाँका अनुसार गरैया टापुका २० घर परिवारलाई उद्दार गरी सुरक्षित स्थानमा सार्ने तयारी भैरहेको छ । नदीको बहाव बढेसँगै प्रजिअ सहितको टोली कोशी क्षेत्रको निरीक्षणमा निस्केको थियो ।