बिर्तामोड । बिर्तामोडबासीले आलोचना गर्दै आएको जथाभावी फोहोरको थुप्रोको आइतबारदेखि भने व्यवस्थापन हुन थालेको छ ।
बिर्तामोडमा थुप्रिएको फोहोर आजदेखि उठाउन थालिएको छ । तर, त्यो फोहोर कतै व्यवस्थापन गरिएको होइन, नगरपालिकाका मेयर ध्रुवकुमार सिवाकोटीको निजी जमिनमै व्यवस्थापन गर्न थालिएको हो ।
बिर्तामोडमा रहेको फोहोर व्यवस्थापन गर्ने ठाउँ अभावका कारण दुई सातादेखि फोहोर उठेको थिएन । फोहोर नउठाउँदा बिर्तामोडको चोक, गल्लीहरु दुर्गन्धित भएका थिए ।
यसैबीच, मेयर ध्रुवकुमार शिवाकोटीले आफ्नो निजी जमिनमा फोहोरको व्यवस्थापन गर्न ठाउँ उपलब्ध गराएपछि फोहोर उठाउन थालिएको नगरपालिकाका प्रशासन प्रमुख देवराज कार्कीले जानकारी दिए ।
उनका अनुसार मेयरको बिर्तामोड–७ मा रहेको निजी जग्गामा ठाउँ दिएपछि तत्कालका लागि फोहोर उठाएर पुरिएको छ । अल्पकालिन समाधानका लागि मेयरले जग्गा उपलब्ध गराएको कार्कीको भनाई छ ।
झण्डै १२ दिनदेखि बिर्तामोडमा फोहोर उठाइएको थिएन । फोहोर उठाउने जिम्मा पाएको निराकार सरसफाई सेवा प्रालिले ठाउँ अभावका कारण समस्या भएको जनाउँदै थियो ।
यस्तै, प्रशासन प्रमुख कार्कीले ल्याण्डफिल्ड साइडका लागि जमिनको खोजी भइरहेको जानकारी दिए । उनले स्थानीय राजनीतिक दल, स्थानीय नागरिक र नगरपालिकाको समन्वयमा दीर्घकालिन व्यवस्थापनको लागि आवश्यक प्रयास भइरहको बताएका छन् ।