काठमाडौँ । जलवायु परिवर्तनका कारण सिर्जित विपद्का हिसाबले झापासहित १८ जिल्लालाई ‘हटस्पट’ मानिएको छ ।
मकवानपुर, रौतहट, बाँके, कैलाली, सिरहा, मोरङ, डोटी, चितवन, धनुषा, सर्लाही, महोत्तरी, पर्सा, सप्तरी, सुनसरी, सिन्धुपाल्चोक, दाङ, कञ्चनपुर र झापा त्यसमा पर्छन् । कैलाली, मकवानपुर, बाँके र सर्लाहीमा मात्रै वार्षिक २० जनाभन्दा बढीको जलवायुजन्य विपद्मा परेर ज्यान जाने गरेको छ ।
वन तथा वातावरण मन्त्रालयले तयार गरेको जलवायु परिवर्तनसम्बन्धी जोखिम आकलनसम्बन्धी प्रतिवेदनअनुसार महोत्तरी र सप्तरीमा विपद्का घटनाले प्रतिवर्ष औसत ९ हजार जना प्रभावित हुने गरेका छन् ।
आर्थिक हिसाबले हेर्ने हो भने सिरहा, सुर्खेत र बर्दियामा सबभन्दा बढी क्षति हुने गरेको छ । ‘जलवायुका कारण हुने विपद्का घटनालाई केलाउँदा नेपालमा अवस्था भयावह बन्दै गएको देखिन्छ,’ प्रतिवेदनमा छ ।
चरम खडेरी र भारी वर्षाले निम्त्याएको बाढीका कारण कृषि क्षेत्र र खाद्य सुरक्षामा असर गर्ने क्रम बढेको छ । सन् १९७२ देखि सन् २०१६ सम्म चरम खडेरीका १६ वटा घटना भएका छन् । असिना, शीतलहर र तातो हावाले पनि कृषि उत्पादनमा ह्रास आएको छ ।
सन् १९७१ देखि सन् २००७ सम्म ८ लाख ४७ हजार ६ सय ४८ हेक्टर जमिनको कृषि बालीमा जलवायुजन्य विपद्का घटनाले क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । भारी वर्षा र बाढीले माछापालनलगायतमा पनि नराम्रो असर गरेको छ ।
जलवायु परिवर्तनका कारण तापक्रम उचालिँदा डढेलोका घटना बढेको छ । तराईदेखि चुरे र हिमाली क्षेत्रमा समेत भीषण डढेलो बढेको र बढ्दै जाने आकलन गरिएको छ । सन् २०१६ मा मुलुकका १० हजार ६ सय ५८ स्थानमा डढेलो लागेको थियो ।
यो वर्ष पनि नेपालसहित विश्वका विभिन्न भागमा अनियन्त्रित रूपमा डढेलो लागेका छन् । हिमाली जिल्लाहरू मनाङ, रसुवा, ताप्लेजुङमा कात्तिकदेखि वैशाखसम्मै डढेलो लागेको थियो । इकान्तिपुरबाट