बिर्तामोड । अर्जुनधारा नगरपालिका ६ मा मृत भेटिएकी एक महिलालाई करेन्ट लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
शनिबार बेलुका श्रीमानसँग घरायसी विवाद हुँदा घर छाडेर निस्किएकी ४५ वर्षीया सावित्रा विकको शव विजुलीको पोल नजिकै आज बिहान स्थानीयले फेला पारेका थिए । उनी श्रीमान नारायणसँगै अर्जुनधारा ६ स्थित बिहानी टोलमा डेरा गरी बस्दै आएका थिइन् ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार विजुलीको पोलमुनि मृत भेटिएकी विकको शरीरको काँधको भागमा ट्रान्सफर्मरको अर्थिङ गरिएको तारले छोएको र काँधको भाग डढेको देखिएको थियो ।
यसैबीच, प्राधिकरणका कर्मचारीले परीक्षण गर्दासमेत तारमा करेन्ट प्रवाह भएको पाइएकाले करेन्ट लागेर मृत्यु भएको आशङ्का गरिएको हो ।