झापा । पूर्वी नाका काँकरभिट्टाबाट आजदेखि भारतीय नागरिकलाई स्वास्थ्य मापदण्ड पूरा गरेर नेपाल प्रवेश गर्न दिन थालिएको छ ।
भारतीय नागरिकलाई कोरोनाविरुद्वको खोप र पीसीआर गरेको कार्ड देखाएमा नेपाल प्रवेश गर्न दिन थालिएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डीएसपी सुनिलसिंह दाहालले जानकारी दिए ।
‘माथिबाट लिखित आदेश त आएको छैन’, डीएसपी दाहालले भने, ‘तर मौखिक आदेशका कारण व्यावहारिकता हेरिदिने भनेकोले भारतीय नागरिकलाई खोप र पीसीआर गरेको कार्डको आधारमा नेपाल प्रवेश गर्न दिन थालिएको छ ।’
कोरोनाका कारण भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा रोक लगाईएको थियो । करिव ४ महिनापछि व्यावहारिकताका आधारमा भारतीय नागरिकहरुलाई नेपाल प्रवेशमा खुल्ला गरिएको छ ।
यसअघि भारतबाट आउने नेपाली र नेपालबाट भारत जाने भारतीय नागरिकहरुलाई खोप र पीसीआरका आधारमा काँकरभिट्टा नाकामा आवत–जावत गर्न दिएको थियो ।
पश्चिम बंगाल सरकारले अझै पनि नेपाली नागरिकहरुलाई भारत प्रवेशमा रोक लगाएको छ । भारतमा जागिर गर्ने नेपालीलाई मात्र प्रवेश गर्न दिएको छ ।