एजेन्सी । मंगल ग्रहको सतहमा चिनियाँ रोभरले १ हजार ६४ मिटर यात्रा गरेको छ । गत मे २२ तारिखमा चीनको ‘चुरोङ रोभर’ मंगल ग्रहमा अवतरण भएको सय दिन बितेको उपलक्ष्यमा चाइना नेसनल स्पेस एड्मिनिस्ट्रेसन (सीएनएसए)ले रोभरको मंगल ग्रह यात्राबारे जानकारी दिएको हो ।

सीएनएसएले मंगल ग्रहमा रोभरले सय दिन पूरा गरेको र महत्त्वपूर्ण सूचनाहरु संकलन गरेको जनाएको छ ।

सन् २०२० को जुलाईमा चीनले मंगल ग्रहका लागि तियान्वेन-१ मिसन लन्च गरेको थियो । करिब सात महिनाको यात्रापछि अर्बाइटर मंगल ग्रह पुगेको थियो । अर्बाइटरले मंगल ग्रहलाई सोमबारसम्म ४ सय ३ फन्को लगाएको सीएनएसएले जानकारी दिएको छ । ३ महिनासम्म मंगल ग्रहको कक्षमा घुमेपछि रोभर सतहमा अवतरण गरेको थियो ।

अर्बाइटर र रोभर दुवैको अवस्था सामान्य रहेको र नियमित रुपमा काम गरिरहेको सीएनएसले जनाएको छ । मध्य सेप्टेम्बरदेखि अन्तिमसम्म सूर्य, मंगल ग्रह र पृथ्वी एउटै लहरमा देखिने भएकाले यो बेला रोभर र अर्बाइटरले गर्ने काम रोकिनेछन् ।

सूर्यबाट आउने सौर्य विकिरणले प्रोब्स र ग्राउन्ड स्टेसनबीचको सञ्चारमा बाधा पुर्‍याउने भएकाले यो बेला काम रोकिने सीएनएसएले जनाएको छ ।

चिनियाँ भाषामा चुरोङको अर्थ पौराणिक अग्नि र युद्धको देवताको रुप हो । चुरोङ रोभरले ९० मार्सियन दिनसम्म काम गर्ने बताइए पनि सोभन्दा बढी समय काम गर्नेछ ।

चीनले आफ्नो अन्तरिक्ष मिसन अन्तर्गत अन्तरिक्षमा छुट्टै आफ्नो अन्तरिक्ष केन्द्रको निर्माण गरिरहेको छ । मंगल ग्रहमा यसै वर्ष अवतरण गरेको अमेरिकाको पर्सिभरेन्स रोभरले पनि काम गरिरहेको छ ।