बिर्तामोड । झापा बिर्तामोडका ए प्लास्टिक एनिमियाबाट पीडित बनेका राजु चौधरीलाई थप उपचारका लागि आज भारतको दिल्ली लगिँदै छ । उनको उपचार नेपालमा ढिलो हुने भएपछि आज भारतको दिल्ली लगिने भएको हाे ।

‘फर राजु अभियान’का सदस्य विशाल अग्रवालका अनुसार चौधरीको काठमाडौँमा उपचार भइरहेको थियो । यसै क्रममा अस्पतालका चिकित्सकको सल्लाहअनुसार उच्च खुराकको औषधि (एजीटी) दिने भनिए पनि कमजोर स्वास्थ्य अवस्थाका कारण दिन सकिएन ।

आज नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट उनलाई दिल्ली लैजान लागिएको हो । उनीसँगै उनका दाजुभाउजु पनि साथमा रहनेछन् । यस महामारीमा राजुका लागि हवाइ टिकट सहजपूर्वक उपलब्ध गराएको भन्दै क्याप्टेन विजय लामालाई ‘फर राजु चौधरी’ अभियानले धन्यवाद पनि दिएको छ ।

अग्रवालका अनुसार डा विशेष पौडेल र विशाल पौडेल (हेमेटोलोजिस्ट)सँग राजुको उपचारका बारेमा छलफल गरेपछि चिकित्सककै सल्लाहअनुसार जतिसक्दो चाँडो दिल्ली लैजान सुझाव मिलेको थियो ।

राजु चौधरीको उपचारका लागि भारत नयाँ दिल्लीको बीएल कपूर अस्पताल एकमात्र विकल्प रहेको निश्कर्ष निकाल्दै त्यही बोनम्यारो प्रत्यारोपण गर्न सकिने बताइएको छ । दिल्लीमा बरिष्ठ डा. महेश चौधरीले राजुको उपचार गर्नेछन् ।

दिल्लीमा गरिने उपचारबाट राजुका सहयोगीहरु आशावादी बनेको उल्लेख गर्दै अभियानले उनको उपचारमा कुनै सम्झौता नगरी साथ र सहयोग जुटाइरहने प्रतिवद्धता जनाएको छ ।

चौधरी बिर्तामोडको रेडियम ब्यान्डका गायक तथा गितारिस्ट हुन् । उनको उपचारमा विभिन्न संघसंस्था तथा सांगीतिक व्याण्डहरु पनि जुटेका छन् । ‘यो विशाल समर्थन र साथ राजुप्रतिको माया हो’, अभियानले भनेको छ ।

चौधरी आवद्ध रेडियम ब्यान्डका विशालसँगै प्रकाश लिङदेन, राहुल शर्मा, विकास गिरी, रमेश चौधरी, जेनिथ प्रसाई र प्रज्ज्वल तिम्सिनालगायत सिंगो टिम नै सहयोग जुटाउन अहोरात्र खटिराखको छ ।

सहयोग गर्न चाहनेहरुले राजु चौधरीको नाममा रहेको सनराइज बैंक बिर्तामोड झापाको शाखाको अकाउन्ट नम्बर ०११०७५१८०२२०५००१ मा सहयोग गर्न सक्नेछन् । अथवा राजु चौधरीको इसेवा नम्बर ९८१७९३५७३३ मा पनि सहयोग गर्न सक्नेछन् ।