बिर्तामोड । बिर्तामोड ४ मा आज बिहान एक जना पुरुषको शव फेला परेको छ । घटनामा पुरुषको हत्या भएको आशंका गरिएको छ ।

बिर्तामोड ४ मा डेरा गरी बस्ने कचनकवल ३ का बाबुलाल भनिने ५० वर्षिय भाद्रु राजवंशीको शव फेला परेकाे हाे । उनकाे हत्या भएको आशंका गरिएको छ । अटो चालक राजवंशीको शव भुइँमा लडेको अबस्थामा फेला परेको छ । राजवंशीको शव अहिले पनि कोठा भित्रै छ ।

उनको अनुहारमा रगत देखिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बताए । प्रहरीले घटनास्थल सिल गरेको छ ।

मृतकका नाबालक छोराले कान्छा काकाले आफ्नो बुवाको हत्या गरेको बताएका छन् । उनी सुस्त मनस्थितिका छन् । हत्या आरोपित फरार रहेको जनाइएको छ ।

प्रहरीले अनुसन्धान थालिनसकेकाले विस्तृत जानकारी आउन बाँकी रहेको प्रमुख प्रहरी नायव उपरीक्षक आचार्यले बताए ।