बिर्तामोड । कनकाई नगरपालिका स्थित बिरिङ खोलामा आज आमाछोराको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खोलामा मृतावस्थामा भेटिएको शवमध्ये ३८ वर्षीया उमा विक र ३ वर्षीय शिशिर विकको रहेको छ ।
मोरङ सुनबर्शी नगरपालिका घर भएकी उमा कनकाई ८ मा रहेको माईती घर बस्दै आएकी थिइन् । उनका श्रीमान दिलिप लोहारको यसअघि नै मृत्यु भइसकेको जनाइएको छ ।
उनी शनिबार राति माइती घरबाट नावालक छोरा बोकेर हिँडेको बताइएको छ । आज आमाछोराकै शव खोला किनारमा फेला परेको हो । आमाको शव फेला परेको स्थानबाट केही तल छोराको शव दिउँसो कनकाई ६ स्थित विरिङ खोलाको बगरमा घोप्टो परेको अवस्थामा फेला पारिएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
उमाको शवलाई पोष्टमार्टमका लागि मेची अस्पताल पठाइएको छ भने छोराको शव सुरक्षित राखिएको छ ।