भद्रपुर । फिल्मी शैलीमा कृष्ण जन्माष्टमीको राति भद्रपुरमा डकैत गर्न आएका ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भद्रपुर ९ स्थित प्रणामी टोलका अशोक तिम्सिनाको घरमा श्रीमती र नावालक छोरामात्र भएको अवस्थामा झ्यालको रड बंग्याएर डकैत गर्न खोज्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
तिम्सिनाको घरमा २ जना डाकाको रुपमा प्रवेश गर्न खोज्ने र २ जना प्रहरीको पोशाकमा पक्राउ गर्न आएका चारै जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा मेचीनगर १४ का कृष्ण बिर्जा, शैलेश राजवंशी, विष्णु भण्डारी र कमल विक रहेका छन् । उनीहरु एकै ठाउँका हुन् ।
कृष्ण जन्माष्टमीको राति ११ः३० बजे घरमुली तिम्सिना करिब २ किलोमिटर टाढा रहेको मन्दिरमा पूजापाठ गर्न गएको मौका छोपी डाकाहरुले घरमा भएको झ्यालको रड बंग्याउन थालेका थिए ।
पहिला २ जना आएर रड बंग्याउन खोजेको देखेर तिम्सिनाकी श्रीमतीले प्रहरीलाई खबर गरेजस्तै गर्दा प्रहरीको पोशाकमा थप २ जना हातमा खुकुरी बोकेर आएको प्रहरीले जनाएको छ ।
चारै जनाले घर वरिपरि घुमेर केहीछिनमै हिँडेको र तिम्सिना आएपछि श्रीमतीले सबै विवरण सुनाएपछि स्थानीय मिलेर खोजतलाश गर्दा उनीहरूलाई कृष्ण मन्दिर नजिक फेला परेका थिए ।
स्थानीयले उनीहरुलाई सोधपुछ गर्दा ‘हामी प्रहरी हौँ, २ जनाले डकैत गर्दै गर्दा पक्राउ गरी प्रहरी चौकी लगेको’ बताएका थिए । तर, केही स्थानीयले उनीहरु प्रहरी नभएको चिनेपछि त्यहाँबाट फरार भएका थिए ।
घटनाबारे सम्पूर्ण विवरण जानकारी गराएपछि फरार रहेका उनीहरुलाई भदौ १८ गते पक्राउ गरिएको प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।
पक्राउ परेका चारै जनालाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता थापाले जानकारी दिए ।