झापा । झापाका रंगकर्मी प्रकाश दाहाल तीन दिनदेखि बेपत्ता छन् । हल्दिबारी १ गोल्धापका २७ वर्षीय दाहाल भदौ १९ गतेदेखि दमकबाट बेपत्ता भएका हुन् ।

१२ बजे राति कोठामा नदेखेपछि सँगै सुतेका रंगकर्मीहरुले परिवारलाई खबर गरेका थिए । परिवारका अनुसार उनको मोबाइल, चप्पल कोठामै छ । उनी शरीरमाथिको कपडा समेत नलगाई बेपत्ता भएको पीडित परिवारले जनाएको छ ।

उनको खोजीका लागि इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिइएको आमा दिलकुमारीले जानकारी दिइन् ।

पारिवारिक स्रोतका अनुसार दाहाल केही समययता दमकको कदम थिएटरमा सक्रिय थिए । उनी दमकमै बस्थे । नेपाली चलचित्र पशुपति प्रसादमा समेत अभिनय गरेका दाहालले दर्जनौं नाटकमा अभिनय गरेका छन् ।

प्रहरीले उनको खोजी कार्य तीव्र पारेको जनाएको छ । उनका सहयोगीहरुले सामाजिक सञ्जालमार्फत पनि बेपत्ता भएको र खोजीका लागि पहल गरिरहेका छन् ।