मोरङ । लागूऔषध गाँजा कारोबार गर्ने ३ जनालाई हिजो बेलुका ५ बजे प्रहरीले गाँजासहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ३५ बर्षीय सन्तोष राई, ३० बर्षीय ज्ञानुराज राई र धनकुटा शहीद भूमि गाउँपालिका ३ का २८ बर्षीय महेश्वर राई रहेका छन् ।

प्रहरी टोलीले उनीहरुलाई १९ केजी ६५० ग्राम गाँजासहित पक्राउ गरेको हो ।

गाँजा बिक्री बितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका सन्तोषको घरकोठाबाट ४ केजी ६५० ग्राम र ज्ञानुको घरकोठाबाट १५ केजी गाँजा बरामद गरेको थियो ।

२ जना पक्राउ परेपछि अनुसन्धान गर्ने क्रममा सो गाँजा महेश्वरबाट खरिद गरेको भन्ने खुल्न आएसँगै प्रहरीले महेश्वर समेत ३ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।