खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १३ नुनथलामा निर्माणाधीन गुम्बा अलपत्र परेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा निर्माण सुरु गरिएको ल्हाज्यालो वाङ्थिप गुम्बा करिब एक करोड १८ लाख खर्च गरिए पनि जग मात्र तयार भएको छ ।
कार्यसम्पादन मूल्याङ्कन चित्तबुझ्दो नभए पनि नगरपालिका र प्रदेशकै फरफारक भने भइसकेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
गुम्बा व्यवस्थापन समितिका सचिव धनकुमार तामाङका अनुसार करिब २१ करोडको लागतमा पाँच वर्षभित्र सक्ने गरी निर्माण सुरु गरिएको उक्त गुम्बा बजेट अभावका कारण निर्माण अलपत्र परेको तामाङले सुनाए ।
वडाअध्यक्ष भीम राईका अनुसार आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले १५ लाख र आर्थिक वर्ष २०७६/७७ मा प्रदेश सरकारले ९९ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो ।
आर्थिक वर्ष २०७५/७६ मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उपलब्ध गराएको १५ लाख रुपैयाँ र आर्थिक वर्ष २०७६/७७ मा प्रदेशबाट उपलब्ध ९९ लाख रुपैयाँको बजेट महेश तामाङको अध्यक्षतामा गठित उपभोक्ता समितिले खर्च गरेको गुम्बा व्यवस्थापन समितिका सचिव धनकुमार तामाङले बताए । इकान्तिपुर अनलाइनबाट