अर्जुनधारा । कोरोना संक्रमण भइ उपचारका लागि लामो समय हस्पिटलमा बसेका अर्जुनधारा ८ शनिश्चरेस्थित बिजुली अफिस नजिकका कृष्ण लुङगेली मगरको निधन भएको छ ।

एक साताअघि घरमा ल्याइएका कृष्णको गएराति ११ बजेर ५० मिनेटमा निधन भएका आफन्त राजकुमार राईले बताए । पोस्ट कोभिड भएका कृष्णको फोक्सोमा समस्या थियो ।

करिब २ महिनाअघि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारका लागि उनलाई बिर्ता सिटीमा राखिएको थियो । ३५ दिन हस्पिटलमा राखिँदा उनको फोक्सोमा इन्फेक्सन हुँदा स्थिति थप जटिल बन्दै गएको थियो ।

लामो समयको उपचारपछि कोरोना संक्रमण नभएको तर फोक्सो खराब हुँदै गएपछि उपचार सम्भव नभएको चिकित्सकलाई उद्धृत गर्दै आफन्तले जनाएका छन् ।

कोरोना संक्रमणपछि श्वास प्रश्वासमा समस्या देखिएको यिथो । उनलाई लामो समय अक्सिजनमा राखेर उपचार गर्ने क्रममा फोक्सोमा थप समस्या आएको हो ।

फोक्सो नै काम नलाग्ने भएपछि चिकित्सकले घर लैजान सुझाव दिएपछि एक साताअघि ल्याइएको आफन्त राजकुमार राईले बताए ।

३४ वर्षीय मगर शनिश्चरे फुटबल क्लबका व्यवस्थापक (म्यानेजर) थिए । खेलप्रेमी युवाको निधनले शनिश्चरे क्षेत्रका युवा स्तब्ध बनेका छन् ।

उनको आजै कनकाई माइ नदीमा अन्त्येष्टि गरिने परिवारले जनाएकाे छ ।