इलामा । पूर्वी नेपालबाट पश्चिम नेपालसम्म जोडिने मदन भण्डारी चुरे राजमार्गको इलाम खण्डमा पर्ने खोलाहरूमा पुल निर्माणको काम थालिएको छ । राजमार्गको इलाम खण्डमा पर्ने तीन वटा खोलाहरूमा पुल निर्माणको काम थालिएको हो ।

चुरे क्षेत्रमा पर्ने बस्तीलाई राष्ट्रिय राजमार्गको पहुँचबाट जोड्ने आयोजनाबाट झापास्थित बेलडाँगीदेखि इलामको चुलाचुली खण्डमा पुल निर्माण हुँदै आएका छन् । राजमार्गको इलाम चुलाचुली गाउँपालिकाभित्र ५ वटा खोलामा पुल निर्माणको डिपिआर सम्पन्न भएकामध्ये तीन वटाको काम थालिएको हो ।

झापाको बेलडाँगीबाट इलाम चुलाचुली जोड्ने रतुवा खोला, इलाम चुलाचुलीको बुकुवा र विधुवा खोलामा पुल निर्माणको ठेक्का सम्झौता भइ निर्माणको काम सुरु भएको छ ।

मदन भण्डारी चुरे राजमार्गको सर्भेको काम इलामको चुलाचुली र माई नगरपालिकाको सुखानीसम्म सकिएको छ । सडक सर्भेपछि पुल निर्माणको थालनीले जनतामा खुसीयाली छाएको चलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले बताउनुभयो ।

ठेक्का सम्झौता भएका पुलमध्ये रतुवा खोलामा पुल निर्माणको काम सुरु भइसकेको छ । एक सय ५० मिटर लामो पुल निर्माणको काम ४५ प्रतिशत सकिएको छ । बिधुवा र बुकुवा खोलामा पुल बनाउने कम्पनीले साइडमा निर्माण सामग्री ढुवानीको काम गरिरहेको छ ।

तीन वटा पुल निर्माणका लागि २०७७ भदौमा तुम्बी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको राजमार्ग आयोजना कार्यालय दमकले जनाएको छ । ३४ करोड ९ लाख १२ हजारमा ठेक्का सम्झौता भएका तीन वटै पुल २०८० जेठ महिनाभित्र सम्पन्न गर्नुपर्ने हुन्छ ।

चुलाचलीमा पर्ने बुकुवा खोलामा ४० मिटर र विधुवा खोलामा एक सय १० मिटर लामो पुल निर्माण हुनेछ । चुलाचुलीमै पर्ने चाजु र बागद्वार खोलामा पुल निर्माणका लागि डीपीआरको काम सम्पन्न भइसकेका छन् ।

१२ सय ५० किलोमिटर लामो चुरे मदन भण्डारी राजमार्गको पूर्वी खण्ड धरानदेखि इलामको चुलाचुली हुँदै झापाको बाहुनडाँगीसम्म १२० किलोमिटर सडक कालोपत्रे गर्नुपर्ने हुन्छ । इमेज खबरबाट