बिर्तामोड । पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडले सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सर परीक्षण तथा उपचार शिविरमा २ हजार ८७ जना महिलाको निःशुल्क परीक्षण तथा उपचार गरिएको छ ।

अस्पतालका जनसम्पर्क प्रमुख प्रोमिश गिरीका अनुसार शिविर भदौ ६ देखि ३१ गतेसम्म अस्पताल परिसरमै सञ्चालन भएको थियो । त्यहाँ परीक्षणका लागि आउने महिलाहरुलाई आवश्यकता अनुसारको विभिन्न परीक्षण तथा उपचार गरिएको हो ।

डा प्रियंका कटुवालको नेतृत्वमा भएको शिविरमा सहभागी महिलाहरुको ओपिडी सेवासहित डेक्सास्क्यान परीक्षण, प्याप स्मेयर परीक्षण, मेमोग्राम, सिए १२५ परीक्षण, कोल्पोस्कोपी परीक्षण गरिएको जनसम्पर्क प्रमुख गिरीले बताए ।

उनका अनुसार डेक्सा स्क्यान ५५ वटा, प्याप स्मेयर ३२३ वटा, १४१ जनाको मेमोग्राम परीक्षण, ५३७ वटा सिए १२५ परीक्षण र कोल्पोस्कोपी परीक्षण २९ वटा गरिएको जानकरी दिए ।

क्यान्सर रोगको उपचारका लागि अत्याधुनिक स्वास्थ्य उपकरणहरुको साथमा गुणस्तरीय सेवा प्रदान गर्दै आएको अस्पताल आफूलाई दक्षिण एसियाकै उत्कृष्ट अस्पताल बन्ने योजनासाथ अघि बढेको छ ।

प्रस्तावित ३०० बेडको यो अस्पताल अहिले १०० बेडमा सञ्चालित छ । अस्पतालमा अहिले ब्रेची थेरापी, पेट सिटी, गामा क्यामेरा, फोरडी पेटसिटी सिमुलेटर, म्यामोग्राम, ब्रेन ल्याब, न्युरो नेभिगेसन सिस्टम, क्याथ ल्याब, डेक्सा स्क्यानको सेवा बिरामीले पाइरहेका छन् ।

पाठेघरको मुखको क्यान्सर उपचारमा ब्रेची थेरापी र स्तन क्यान्सरमा म्यामोग्राम अचुक उपकरण मानिन्छ । त्यस्तै, रेडियो थेरापी, केमो थेरापी, सर्जरी, एमआरआइ सिटिस्क्यान लगायतका लगायत सम्पूर्ण सेवा उपलब्ध रहेको जनसम्पर्क अधिकृत गिरीले बताए ।