शनिश्चरे । झापाको अर्जुनधारा ९ मा रहेको शनिश्चरे अस्पतालको स्तरोन्नतीको लागि चिकित्सकहरुको टिमले चासो राखेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत् चिकित्सकहरुको टिमले अर्जुनधारा नगरपालिकामा अस्पतालको स्तरोन्नती गर्नेबारे प्रस्ताव गर्दै तीन महिना अघिदेखि सम्भाव्यता अध्ययनको काम सुरु गरेको हो ।

टिमले उपकरणको उपलब्धतादेखि जनशक्ति व्यवस्थापनसम्म भूमिका खेल्ने टिमका सदस्य डा. विवेक कट्टेलले जानकारी दिए । उनले तालिम प्राप्त जनशक्ति अस्पतालमा व्यवस्थापन गरेर स्तरोन्नती गर्न आफ्नो टिम लाग्ने बताए ।

शनिश्चरे अस्पताललाई जिल्ला अस्पताल तहको सुविधा सम्पन्न बनाउन टिमको भूमिका रहने छ । उनी भन्छन्– “उपकरण भएर मात्र के गर्ने, कतिपय अस्पतालमा त्यस्ता उपकरण गोदाममा थन्काइएका छन् त्यसकारण उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति उत्पादन गरेर सहयोग समेत गर्नेछौं ।”

सबैभन्दा पहिला समस्या पहिचान गरेर त्यही अनुसारको सेवा विस्तार गर्ने टिमको लक्ष्य रहेको छ । विस्तार हुने सेवाहरुमा हाल मेडिकल अधिकृतको सेवा रहेको अस्पतालमा विशेषज्ञ चिकित्सकहरुको सेवा, गुणस्तरीय उपकरणहरुको उपलब्धता, स्पेशल टेष्टहरुको सेवालगायत हुने बताइएको छ ।

टिमले यही प्रकारको कार्य छिमेकी जिल्ला इलाम र संखुवासभामा गरिरहेको टिमका अर्का सदस्य उत्तम भण्डारीले जानकारी दिए । उनका अनुसार टिमले प्रदेश नं. १ का विभिन्न अस्पतालहरुलाई एक सय ७१ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको बताइएको छ ।

यसैबीच टिमले मंगलबार शनिश्चरे अस्पतालमा विस्तारित तथा व्यवस्थित सेवा सञ्चालनको लागि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाको सभाहलमा नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौँलागाईं, नगरका जनप्रतिनिधि, स्वास्थ्य शाखाका प्रतिनिधि, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

टिमका सदस्य डा.कट्टेलले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखाका अधिकृत मुकुन्द बस्नेतले गरेका थिए ।