काँकरभिट्टा । आसन्न नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि पालिकास्तरमा हुन गइरहेको निर्वाचनमा मेचीनगर सचिवका लागि चार जनाले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
पार्टीभित्र सक्रिय रहेका मेचीनगर १० का मनोज घिमिरे, वडा नम्बर ९ का मुकेश लिम्बू, वडा नम्बर २ का लक्ष्मी काफ्ले र वडा नम्बर ६ का अशोक राईले सचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।
उम्मेद्वारी घोषणासँगै पार्टीको नगर अधिवेशनमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । पार्टीभित्रको सक्रियता र योगदानका आधारमा अशोक राईको सम्भावना चुलिएको बताइएको छ । तर, छिनोफानो भने असोज ९ गते हुने पालिकास्तरीय निर्वाचनबाट हुनेछ ।
स्कुले जीवनबाटै संगठनमा सक्रिय राई दुई दशकदेखि पार्टीमा आवद्ध छन् । नेविसंघको क्षेत्रीय सभापतिमा दुई कार्यकाल बिताएका राईको सक्रियतामा काँकरभिट्टा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघकाे प्यानल जिताउन महत्वपूर्ण योगदान रहेको पार्टीभित्र चर्चा छ ।
इमान्दार र भिजन भएका युवा नेताका रुपमा रहेका राई राजनीतिक सक्रियतासँगै सामाजिक संघसंस्थामा पनि आवद्ध छन् । मेची सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य राई नाइट चेस क्लबका निवर्तमान महासचिव हुन् ।
यस्तै, काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर र किरात राई यायोक्खाका नगर सचिव पनि हुन् राई । ‘विभिन्न सामाजिक संघसंस्थाको महासचिव र सचिव भएर संगठनलाई चलायनमान बनाएको अनुभव भएकाले पार्टीमा पनि सचिव पदको दाबेदारी हो’, राईले भने ।
उनले उम्मेद्वारी घोषणासँगै मतदातासमक्ष भोट माग्न घरदैलो सुरु गरिसकेका छन् ।