मोरङ । विराटनगर महानगरपालिकामा आकाशे पुल बनाउने योजना अलपत्र परेको छ । सम्बन्धित निकायको समन्वयकारी भूमिकाको अभाव तथा स्थान सुनिश्चित नगरी योजना कार्यान्वय गर्न खोज्दा झण्डै साढे २ करोड रुपैयाँको योजना अलपत्र परेको हो ।

विराटनगर महानगरपालिकाको कोशी राजमार्गका विभिन्न तीन स्थानमा आकाशे पुल बनाउने योजना चर्चामा आएको पनि झण्डै तीन बर्ष पुगेको छ । २०७७ साल चैत्र २ गते विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले नगरक्षेत्रको बरगाछीमा एक कार्यक्रमकाबीच आकाशे पुलको विधिवत् शिलान्यास गर्नुभएको थियो ।

त्यसयता आकाशे पुलको डिजाइन गरि ठेक्का समेत लगाइए पनि अहिलेसम्म पुल निर्माणले पूर्णता पाउन सकेको छैन । पुल बनाउने ठाँउको स्थलगत अध्ययन नगरी निर्माण प्रक्रियालाई अघि बढाइएको तथा सम्बन्धित निकायको ढिलासुस्तीका कारण निर्माण अलपत्र परेको स्थानीय तथा सरोकारवालाहरुले बताउने गरेका छन् ।

महानगरपालिकाले आकाशे पुल निर्माणका लागि भन्दै २०७६ साल फागुन १६ गते टेण्डर निकालेको थियो । त्यसको झण्डै एक वर्षपछि अर्थात् २०७७ माघ २८ गतेमात्र महानगरले ढिला गरि ठेकेदारहरुको टेण्डर स्वीकृत गरेको थियो ।

नगरक्षेत्रको सुन्दरता अभिवृद्धि र सडक वारपार गर्न पैदल यात्रीलाई सहजताका निम्ति महानगरको घाँसचोक, बरगाछी र कंचनबाडीचोकमा गरि तीनवटा फलामे संरचनाको आकाशे पुल बनाउनेगरि योजना अघि बढाइएको छ ।

त्यसमध्ये बरगाछी समेतको दुई स्थानमा आकाशे पुल निर्माणको ठेक्का विराटनगर १२ को कला बिल्डर्सले पाएको छ भने कञ्चनबाडीचोकमा आरके बिल्डर्सले निर्माणको ठेक्का पाएको छ । महानगरले तीनवटै पुलका लागि २ करोड ४७ लाख रुपैयाँमा ठेक्का लगाएको छ ।

घाँसचोक र बरगाछीमा आकाशे पुल निर्माणको जिम्मा पाएको कलाबिल्डर्सले आवश्यक सामग्री र प्राविधिक भारतबाट झिकाई सके पनि बनाउने ठाउँको सुनिश्चिता हुन नसक्दा निर्माणले पूर्णता पाउन नसकेको बताएको छ ।

यसअघि भट्टीमोड छेउको घाँसचोकमा पुल बनाउने भनिए पनि त्यो ठाँउमा अन्य संरचना निर्माण हुने भएपछि त्यहाँको पुललाई पाञ्चाली मोडमा सारिएपछि विवाद सिर्जना भएको हो । कला बिल्डर्सले त्यो ठाँउमा भदौ १८ गते यता जग निर्माणको काम शुरु गरे पनि स्थानीयको विरोधका कारण निर्माण कार्य रोकिएको छ । उज्यालो अनलाइनबाट