फाइल तस्वीर ।

झापा । मेचीनगर नगरपालिका १ का लालबहादुर मोक्तान फूल खेल्न थालेको धानबाली हेरेर मख्ख थिए । शुक्रवार दिनभर खेतमा फस्टाएको धान हेरेर खुशी हुँदै घर फर्किका उनी बर्षदिन खान पुग्ने धान फल्ने अनुमान गरे । तर, उनको खुशी भारतबाट आएको जंगली हात्तीले एकदिन पनि टिक्न दिएन ।

शुक्रवार राति १० कठ्ठा जमिनको धान हात्तीले खाएर र माडेर सखाप पारिदियो । उनले निरास हुँदै भने, “पाक्न लागेको बाली सखाप पारिदियो, अब के खाएर बाँच्नु ।” उनी मात्र होइन दैनिक भारतबाट हुल बाँधेर आउने हात्तीको उपद्रो बढ्न थालेपछि बाहुनडाँगीबासी चिन्तित छन् ।

उनकै छिमेकी रमेश भूजेलको १० कठ्ठा, नन्द अधिकारीको पाँच कठ्ठा, कैलाश भण्डारीको पाँच कठ्ठा गरी डेढ विगाह जमिनको धान एकैरातमा हात्तीले खाइदिएको छ । मेची नदीमा लगाइएको विद्युतीय तारबार भत्काएर भारतीय जंगली हात्तीले वस्ती पसेर दैनिकजसो उपद्रो मच्याउन थालेका छन् ।

हात्ती छेक्न २०७२ सालमा विश्व बैंकको सहयोगमा राष्ट्रिय प्रकृति संरक्षण कोषले मेची नदी किनारमा १८ किलोमिटर क्षेत्रमा विद्युतीय तारबार लगाएको थियो । सोही तारवारका कारण आठ बर्षसम्म ढुक्कले निदाएका बाहुनडाँगीबासी हात्ती गाउँ पस्न थालेपछि रातभर जाग्राम बस्न थालेको स्थानीयबासी शंकर लुईटेलले बताए । ‘ज्यान जोगाउनै मुश्किल छ’, उनले भने ‘खै कसरी पाक्न लागेको अन्नवाली जोगाउनु अब ।’

विद्युतीय तारबारको उचित मर्मत सम्भार नुहँदा दैनिकजसो जंगली हात्तीले भत्काएर नेपाल प्रवेश गर्न थालेका छन् । प्रवेश गर्ने हात्तीले मेचीनगर १, २, ३ र ४ मा बढी दुःख दिइरहेको उनको भनाई छ ।

जिल्लाका बुद्धशान्ति गाउँपालिका, भद्रपुर, कनकाई, अर्जुनधारा र दमक नगरपालिकामा पनि हात्तीले दुःख दिइरहेको छ । अन्नवाली खाइदिए वा घर भत्काएमा डिभिजन वन कार्यालयले रु १० हजार क्षतिपूर्ति दिँदै आएको छ ।

तर, सो क्षतिपूर्ति पाउनका लागि लामो समय कुर्न पर्ने र पटकपटक कार्यालय धाउनुपर्ने झन्झटिलो प्रक्रियाबाट दिक्क भएका हात्ती पीडितहरुले निवेदन नै दिन छोडेको मेचीनगर–३ का स्थानीय राजीव माझीले बताए ।