बिर्तामोड । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका लागि बिर्तामोड नगर सभापतिमा भोजराज सिटौला विजयी भएका छन् ।

उनी ४३ मत अन्तरले विजयी भएका हुन् । उनका प्रतिष्पर्धी कुलप्रसाद संग्रौला थिए । सिटौला बिर्तामोड नगरपालिका ३ का र संग्रौला वडा नं ४ का वडाध्यक्ष समेत हुन् ।

मत परिणामअनुसार सभापति पदका उम्मेद्वार सिटौलाको प्यानलले नै विजयी प्राप्त गरेका छन् । सिटौलाले १५९ मत ल्याउँदा प्रतिस्पर्धी संग्रौलाले ११६ मत पाएका छन् ।

त्यस्तै उपसभापतिमा सिटौला प्यानलकै सूर्यप्रसाद कन्दङ्वा १७३, राजकुमार राजवंशी १३६ मत ल्याएर विजयी भएका छन् । अर्को प्यानलका बलराम कार्कीले ११३ र पशुपति राजवंशीले १०७ मत पाएका छन् ।

त्यस्तै सचिव पदमा दिवाकर प्रसाई १५३ र उत्तम खनाल १३५ मतसहित विजयी बनेका छन् । सचिव पदकै प्रत्यासी अच्युत दाहालले १२८ र दिपेन्द्र राउतले १२२ मत ल्याएका छन् ।

त्यस्तै सहसचिवमा रमेश चौधरीले १६६ र दिनेश पराजुलीले १४७ मत ल्याएर विजयी हासिल गरेका छन् । उनीहरुका प्रतिद्वन्द्वी धर्मेन्द्र सिटौलाले ११५ र अमोदकुमार दाहालले १११ मत ल्याएका छन् ।

मतदानमा २७९ जनाले भाग लिएका थिए । ५९ सदस्यीय बिर्तामोड नगर समितिका लागि हिजो ९० जनाको उम्मेद्वारी परेको थियो । त्यसमध्ये २५ जना सर्वसम्मत भएका थिए ।

यसैगरी, भद्रपुर नगर समितिको सभापतिमा रामबहादुर कँडेल निर्वाचित भएका छन् । उनले ६१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धीहरु मदनबहादुर बस्नेतले ५३, बन्धु कार्कीले ५१, भरत प्रसाईँले ५० र ज्ञानबहादुर चौहानले १२ मत प्राप्त गरे ।

दुई सचिव पदमा अनिता रिजाल र उत्तम कोइराला निर्वाचित भएका छन् । रिजालले १३४ र कोइरालाले १२१ मत ल्याएका छन् । उनीहरूका प्रतिष्पर्धीहरु दुर्योधन कार्कीले ६०, टेकबहादुर पाण्डेले ७२ र सन्तकुमार राजवंशी (सन्तोष) ले ३४ मत प्राप्त गरे । त्यस्तै सहसचिव दुई पदमा नन्दलाल राजवंशी र मणिकुमार राई निर्वाचित भएका छन् ।

यस्तै, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा पार्टीको सभापति पदमा सुदय पनेरु निर्वाचित भएका छन् । सभापति पदमा पनेरु र नविन बराल उम्मेद्वार थिए ।

उनले प्रतिष्पर्धी उम्मेद्वार नविन बरालभन्दा १५ मत बढी प्राप्त गरे । कूल ४९९ मतमध्ये पनेरुले २४८ र बरालले २३३ मत पाएका छन् । आज भएको मतदानपछि अपरान्ह ३ बजेदेखि गणना सुरु भएको थियो । पनेरुले निरन्तर अग्रता लिएका थिए ।