बिर्तामोड । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत झापाका सबै गाउँ तथा नगरपालिकामा अधिवेशन सम्पन्न भएको छ । ४ पालिकामा निर्विरोध र ११ मा आइतबार मतदानबाट नयाँ कार्यसमिति चयन भएको हो ।

सबैमा काँग्रेसका पूर्वमहामन्त्री तथा सभापतिका आकांक्षी कृष्ण सिटौला निकट सभापतिमा निर्वाचित भएका छन् ।​

११ पालिकामा निर्वाचन हुँदा सिटौला निकट सभापतिका उम्मेदवारसँग अधिकांश पालिकामा महामन्त्रीका उम्मेदवार तथा पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा निकटले प्रतिस्पर्धा गरेका थिए ।

केहीमा सभापतिका दाबेदार शेखर कोइराला निकटले प्रतिस्पर्धा गरेका थिए । तर, झापामा भएको नगर र गाउँपालिका निर्वाचनले सिटौलाको पकड १३औं महाधिवेशनभन्दा पनि बलियो देखिएको छ ।

मत परिणामअनुसार कन्काई नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद प्रसाई चयन भएका छन् । यस्तै मेची नगरपालिकामा सुदय पनेरु निर्वाचित भएका छन् ।

यस्तै, बिर्तामोड नगरपालिकामा भोजराज सिटौला चयन भएका छन् भने झापा गाउँपालिकामा साघीरथ गणेश सभापति चयन भएका छन् । कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने सभापति चुनिएका छन् भने दमक नगरपालिकामा प्रकाश प्रसाई चयन भएका छन्।

अर्जुनधारा नगरपालिकामा हेमराज खरेल सभापतिमा चयन भएका छन् भने भद्रपुर नगरपालिका सभापतिमा रामबहादुर कँडेल चयन भएका छन् । बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्मा चयन भएका छन् भने गौरादह नगरपालिकामा यादव राज सेढाई चयन भएका छन्।

शिवसताक्षी नगरपालिकामा अशोक बस्नेत चयन भएका छन् भने हल्दिबारी गाउँपालिकामा गंगा प्रसाई चयन भएका छन्। ​गौरीगंज गाउँपालिका समितिको सभापतिमा अधनु प्रसाद राजवंशी चयन भएका छन् भने बाह्रदशी गाउँपालिकामा इन्दु बस्नेत चयन भएका छन्।

यस्तै, कचनकवल गाउँपालिका समितिको सभापतिमा तुलाराम अधिकारी चयन भएका छन् ।