खनाल परिवारकाे घर पुनर्निर्माण गरिँदै । तस्वीर: अमित खम्बू

अर्जुनधारा । गत भदौ २६ गते झापाको अर्जुनधारा ७ मा ग्यास लिक भई भएको आगालागीमा परी घाइते भएका रोमनाथ खनाल परिवारको उपचार एवम् घर पुनर्निर्माण सहयोग अभियानको आय-व्यय विवरण बिहीबार सार्वजनिक गरिएको छ ।

 

आगलागी पीडित आर्थिक सहयोग समितिका संयोजक गोविन्द खतिवडाको अध्यक्षतामा आयोजित भेलामा समितिका सचिव एवम् सामाजिक अभियन्ता कमल पोखरेलले १९ लाख ५२ हजार छ सय ३२ रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

प्रस्तुत प्रतिवेदन अनुसार उक्त घटनामा घाइते भएका रोमनाथ, उनकी श्रीमती दुर्गा र छोरा पंकजको उपचारमा १० लाख ८७ हजार आठ सय तीन रुपैयाँ खर्च भएको छ । घटनापछि उनीहरुलाई सुरुमा विराटनगरस्थित म्याक्स अस्पताल र त्यसपछि थप उपचारको लागि काठमाण्डौंस्थित किर्तिपुर शिक्षण अस्पताल पुर्याइएको थियो ।

 

किर्तिपुर शिक्षण अस्पतालमा उपचाररत् घाइतेमध्ये खनाल दम्पत्तीको भने असोज ४ गते निधन भएको थियो । छाेरा पंकजकाे उपचार सम्भव भएकाे थियाे । खनाल दम्पत्तीको निधनपछि अनौपचारिकरुपमा स्थगित गरिएको सहयोग संकलनको कार्यलाई भेलाबाट पूर्णरुपमा स्थगित गर्ने निर्णय गरेको समितिका सचिव पोखरेलले जानकारी दिए ।

 

त्यसैगरी बचत भएको रकम आठ लाख ६४ हजार आठ सय २९ रुपैयाँ पीडित परिवारको घर पुनर्निर्माणमा खर्च गरिने समितिका संयोजक खतिवडाले जानकारी दिए ।

 

यसैबीच पीडित खनाल परिवारको घर पुनर्निर्माणको कार्य पनि सुरु भएको छ । सोही अभियानलाई सहयोग गर्न हार्डवेयर व्यवसायी संघ झापाले अनुमानित तीन लाख बराबरको जस्ता र ट्रस्ट उपलब्ध गराउने समितिका सचिव पोख्रेलले जानकारी दिए ।

 

त्यस्तै अभियानमा सहभागी भई घाइतेहरुको उपचारको लागि सहयोग गर्ने सम्पूर्ण दाताहरुलाई समितिले धन्यवाद व्यक्त गरेको छ ।