फिदिम । उपचाररत बालिकाको मृत्यु पछि तोडफोड गरिएको घटनालाई लिएर पाँचथर जिल्ला अस्पतालमा तीन दिनदेखि सबैखाले सेवा ठप्प छ ।
आकस्मिकसहित बिहीबारदेखि सबै सेवा ठप्प हुँदा बिरामीले स्वास्थ्यसम्बन्धी परामर्श र उपचार पाएका छैनन् भने भर्ना भएकालाई अन्यत्र पठाएर बेड खालि गरिएको छ ।
दुई दिनअघिसम्म खचाखच बिरामी उपचाररत रहेको अस्पतालमा शनिबार अपरान्हसम्म एक जनाबाहेकका बिरामीलाई घर पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।
ज्वरो आएपछि अस्पताल भर्ना भएकी फिदिम नगरपालिका २ की ३ वर्षीया क्रिष्टिना थाम्सुहाङको निधनमा स्वास्थ्यकर्मीको लापरबाहीको आरोप लगाउँदै भौतिक संरचनामा क्षति पुर्याएकाले शान्ति सुरक्षा ग्यारेन्टीको माग गर्दै स्वास्थ्यकर्मीले काम ठप्प पारेका हुन् ।
‘अस्पताल आएका नयाँ बिरामीको भर्ना नलिनका साथै पहिले भर्ना भएकालाई धमाधम फिर्ता पठाउँदैछौं’, सूचना अधिकारी नारायण जोशीले भने । उनका अनुसार अस्पतालमा दैनिक २ सय ५० देखि ३ सयको हाराहारीमा बिरामी आउने गर्थे ।
यहाँ पाँचथरसहित ताप्लेजुङ र तेह्रथुमको आठराइ क्षेत्रका बिरामी सेवा लिन आउने गरेकोमा सेवा ठप्प भएपछि उनीहरु इलामहुँदै तराईका अस्पतालसम्म जान बाध्य भएका छन् ।
सेवा प्रभावित हुँदा सबैभन्दा ठूलो प्रभाव प्रसूति हुन आउनेलाई परेको छ । दक्ष प्रसूतिकर्मीसहित गाइनोसम्बन्धी विशेषज्ञ डाक्टरबाट सेवा दिइने भएकाले अप्रेसन गर्नुपर्ने महिला सुत्केरी हुन यही अस्पतालमा आउने गर्छन् । सेवा ठप्प भएपछिको तीनदिनको अवधिमा प्रसूतिको अवधि पुगेका १५ जना गर्भवती फर्किइसकिएको छ ।
यसैबीच घटना भएको चौथो दिन शनिबार जिल्लास्थित राजनीतिक दल र सरोकारवालाको उपस्थितिमा सेवा सुचारु गर्ने विषयमा स्वास्थ्यकर्मीसँग अस्पताल विकास समितिले आह्वान गरेको वार्तामा कुनै निष्कर्ष निस्केन ।
विकास समितिका पदाधिकारीले स्वास्थ्यकर्मीलाई सेवा सुचारु गर्न भने पनि तोडफोडमा संलग्नलाई कारबाही गर्दै स्वास्थ्यकर्मीको सुरक्षा ग्यारेन्टी नगरिएकाले वार्ता निष्कर्षविहीन बनेको सिनियर अहेव उमेश साहको भनाइ छ । आफूहरुका माग सम्बोधन भए तत्काल सेवा सुचारु गर्ने स्वास्थ्यकर्मीको प्रतिक्रिया छ ।
असोज १९ गते अस्पताल भर्ना गरिएकी क्रिष्टिनाको २० गते बिहान साढे ७ बजे चिकित्सकले सुइ लगाइदिएलगत्तै निधन भएपछि मृतकका आफन्तले अस्पताल तोडफोड गरेका थिए ।
अस्पतालले बालिकालाई डोज लगाउने क्रममा नसाबाट सेफ्ट्रियाक्जोन नामक औषधि दिइसकेर पारासिटामोल लगाउने क्रममा बेहोस भइ मुटुको चालमा समस्या आएर निधन भएको उल्लेख गरिएको छ । चिकित्सकीय भाषामा यसलाई जटिल एलर्जेटिक प्रक्रिया भनिन्छ । यो समाचार इकान्तिपुरमा छ ।